कर्णालीको मुख्यमन्त्री दौडमा को–को ?

मुख्यमन्त्री बन्ने दाउमा कतिपय उम्मेदवार प्रतिनिधिसभा सदस्यको टिकट त्यागेर प्रदेशमा लागेका छन्
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई कांग्रेस हुम्लाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एकल उम्मेदवार सिफारिस गरेको थियो । तर उनले फेरि प्रदेश रोजेका छन् । यसपालिको कार्यकाल कम भएको भन्दै उनले पुरै कार्यकाल चलाउने गरी फेरि मुख्यमन्त्री बन्न प्रदेशसभा रोजेका हुन् । जसका लागि उनी एमालेका छक्कबहादुर लामासँग चुनावी प्रतिस्पर्धा गर्दै छन् । लामा २०७४ को निर्वाचनमा बाम गठबन्धन र कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै हुम्लाबाट स्वतन्त्र रूपमा प्रतिनिधिसभा निर्वाचित भएका थिए ।
एमाले स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेल पनि मुख्यमन्त्री बन्ने दाउमा आफूभन्दा ‘जुनियर’लाई प्रतिनिधिसभा सदस्य छोडेर प्रदेशसभामा उम्मेदवार बनेका छन् । यसअघि पनि प्रदेशसभा सदस्य रहेका उनी मुख्यमन्त्री बन्न पटकपटक विवादित बनेका थिए । उनी प्रदेशसभा सदस्य निर्वाचन–२०७४ मा मुख्यमन्त्रीको आकांक्षा सहित निर्वाचन लडेका थिए । उनले जिते तर साविक नेकपामा कर्णाली प्रदेशको मुख्यमन्त्री पूर्वमाओवादीको भागमा परेपछि उनी मुख्यमन्त्री बन्न पाएनन् । साविक नेकपाबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । उनी मुख्यमन्त्री भएकै बेला कँडेलकै अगुवाइमा अविश्वासको प्रस्ताव पेस गरेको थियो । तर संसद्बाट अविश्वासको प्रस्ताव पास नभएपछि उनी मुख्यमन्त्री बन्न पाएनन् ।
कँडेल फेरि मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभाको उम्मेदवार बनेका छन् । कँडेलसँग उनकै पुराना मित्र कांग्रेसका कालीप्रसाद शाक्यले प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् । २०४९ मा स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा कँडेलले शाक्यलाई पराजित गरेका थिए । यसपालि भने शाक्यसँग गठबन्धनको साथ छ ।
एमालेबाटै मुख्यमन्त्रीका दाबेदार छन्– दैलेख क्षेत्र नं. २ (१) का उम्मेदवार विनोद शाह । उनी एमाले प्रदेश अध्यक्षसमेत हुन् । तर उनले पूर्व एमालेका नेता योगेन्द्र शाहीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यता रुकुम पश्चिममा अर्थमन्त्री एवं माओवादी उपमहासचिव जनार्दन शर्माका नजिक मानिने रामकुमार शर्मा पनि मुख्यमन्त्रीको चर्चामा छन । शर्मा माओवादी कर्णाली प्रदेश कमिटीका पूर्वअध्यक्ष र जिल्ला समन्वय समिति रुकुम पश्चिमका पूर्वप्रमुख हुन् । उनी रुकुम पश्चिमबाट प्रदेशसभा क्षेत्र नं १ (२) बाट उम्मेदवार छन् । उनीसँग एमालेका कर्णबहादुर घर्ती पनि चुनावी प्रतिस्पर्धामा छन् । तर माओवादीको आधार इलाका मानिने रुकुम पश्चिममा कांग्रेसबाट उम्मेदवार नभएपछि शर्मालाई चुनाव जित्न केही सहज छ ।
माओवादी नेता विन्दमान विष्ट पनि मुख्यमन्त्रीको आकांक्षी छन् । उनी सुर्खेत २ (२) बाट प्रदेशसभा सदस्यको उम्मेदवार छन् । उनीले एमालेका ताराकेशर गौतमसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । विष्ट यसअघि कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका छन् । कांग्रेसबाट प्रदेश सभापति जुम्लाका ललितजंग शाही र जाजरकोटका राजीवविक्रम शाहलगातयत नेता पनि मुख्यमन्त्रीको आकांक्षी छन् । एमालेबाट सल्यानका गुलावजंग शाहलाई पनि भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ । मुख्यमन्त्री बन्ने दाउमा कतिपय उम्मेदवारहरू प्रतिनिधिसभा सदस्यको टिकट त्यागेर प्रदेशमा लागेका छन् । कर्णालीमा प्रत्यक्षतर्फ २४ सिट र समानुपातिकतर्फ १६ गरी ४० सिटका लागि मतदान हुने भएको छ ।
जाजरकोटबाट प्रदेशसभामा प्रतिस्पर्धा गरिरहेका राजीवविक्रम शाहले मतदाताले जिताएर पार्टीले जिम्मेवारी दिएपछि जिम्मेवारी वहन गर्न आफू पनि तयार रहेको बताए । ‘पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सके पनि पदहरू आफै आफूतिर आउँछन्,’ कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनले भने, ‘अहिले चुनावी प्रचारका लागि जाजरकोटका गाउँगाउँमा डुलिरहेको छु ।’
–साभार : कातिपुर