रित्तिदै काख

दैलेख । जंगलमा फिरेन्त जीवन विताउँदै आएका राउटे समुदाय दैलेखको नारायण नगरपालिका– ८ साल खर्कको जंगलमा बसोबास गरिरहेका छन् । लोपोन्मुख जातिमा सुचिकृत यो समुदायमा पछिल्लो समय शिशु मृत्युदर ५० प्रतिशत छ । राउटे समुदायमा जिउ ढाक्ने कपडा छैन । न्यानोका लागि न त घर नै छ । जाडोमा आगो बालेर रात कटाउँछन भने दिनमा घाम तापेर चिसो काट्छन् । जंगलकै जडीबुटीको बढी विश्वास गर्छन । उपचार लागि स्वाथ्य संस्थामा जादैनन् । गर्भवती आमा,बालबालिका,सुत्केरीले स्वास्थ्यको हेरचाह गर्दैनन भने युवा बृद्ध राउटे सदस्य मदिराको स्वास्थ्य स्थित दिनप्रतिदिन विग्रदै गएको छ ।
अहिले राउटे बस्तीमा ४२ घरधुरीका १४३ जना छन् ।
तस्बिर / मध्यपहाड
२०७५ साउन देखी यता बालबालिका ३६ जना र युवा बृद्ध २० जनाको मृत्यु भएको छ । गएको चार बर्षमा उनीहरुको जनसंख्या बृद्धि हुन सकेको छैन । गर्भवती तथा सुत्केरी राउटे महिलाले पोषण तथा सुत्केरी स्याहार चासो नदिदा बालबालिकाको मृत्युदर बढेको छ भने युवा तथा बृद्धहरु अत्याधिक मदिरा सेवनका कारण सबै स्वास्थ्य जटिल बन्दै गएको छ ।
तस्बिर /मध्यपहाड
अत्याधिक मदिरा सेवनका कारण १९ गते राती सुतिरहेको अवस्थामा राउटे सदस्य नारायण शाहीको आगो लागी घाईते भए । अहिले उनको उपचार ट्रमा सेन्टर काठमाण्डौंमा भईरहेको छ । तीनै नारायण शाही महामुखिया महिनबहादुर शाही र दुनी शाही शाहीबाट जन्मिएका १४ सन्तान मध्य जिवित एउटै मात्र सन्तान हुन् । चार छोरी १० छोरा गरि १४ जना सन्तान जन्माएकी दुनी शाही अहिले त्यही एक छोरा नारायणको चिन्तामा पिरोलि रहन्छन् । बस्तीमा कोही नयाँ मान्छे जानेवित्तिकै उपचारमा रहेको छोराको स्वास्थ्यको बारे सोधीखोजी गर्छन । उनी भन्छिन,छोरा छोरी जन्मिनु मर्नुमा कसैको दोष छैन । भगवानले जस्तो गरी जन्मायो,त्यसरी मारेको बताउँछिन् ।
तस्बिर / मध्यपहाड
दुनी मात्र होइनन् त्यस्तै पिडा पोको छ अर्का राउटे मुखिया सुर्यनारायण शाहीको । सुर्य नारायण २३ बर्ष र लक्ष्मी शाही १८ बर्ष हुँदा विहेवारी भयो । हालसम्म लक्ष्मीले ८ वटा सन्तान जन्माईन । तर उनीसँगै अहिले ३ छोरी १ छोरा गरि जीवित ४ वटा छन् । दुई छोरा दुई छोरी चिसोका कारण अकालमा ज्यान गुमाएका मुखिया सुर्यनारायणको भनाई छ । कहिले काही सपनामा वितेका छोराछोरी आएर चित्त दुख्ने गरेको मुखियाको भनाई छ ।
राउटे समुदायले कहिल्यै पनि आफ्नो सदस्यको गणना गर्दैनन् तर सरकारका मान्छे आएर आफ्ना सदस्यको गणना गर्दा भगवान रिसाउँदा बालबालिका मरेको अर्का राउटे हर्कबहादुर शाहीले बताए । उनले भने,हामी जातिमा संख्या गन्नु हुदैन भन्ने रित छ । घरमा मात्र गन्छौं । तपाई जस्तो दुनियाँ आएर सरकारका मान्छे गर्न थालेपछि बालबालिका मर्न थालेको हो,उनले भने ।
तस्बिर / मध्यपहाड
तर राउटे समुदायमा स्थानीय गैरसरकारी संस्था मार्फंत २०७५ देखी काम गर्दै आएका एक कर्मचारी बताए अनुसारे आमा बाबुको लापरवाही र चिसोका कारण बालबालिकाको मृत्यु हुने गरेको बताउँछन् । राउटे समुदायमा मदिराले पिउन थालेपछि बालबालिकाको हेरचाह हुन छोडेको छ । वेवास्ता गर्दा चिसो भई पछिल्लो समय शिशुमृत्य दर बढेको हो । १६ महिना देखी राउटेमा महिलामा कसैको पनि कोख बसेको छैन,यो पनि मदिराको कारण हो उनले थपे ।
पुस्तौ पुस्तादेखी कुकाठबाट भाँडाकुडा बनाएर आत्मनिर्भर बन्दै आएका राउटे समुदाय भने पछिल्लो समय सरकारले दिने सामाजिक सुरक्षा भत्ता र गैरसरकारी संस्थाले आवश्यकता भन्दा बढी राहत सहयोगले परनिर्भर बन्दै गएका छन् ।
कुकाठबाट काठका भाँडाकुडा बनाएर अन्न सँग साट्ने यो समुदायले आजभोली सरकारले दिने सामाजिक सुरक्षाको भत्ताले गर्दा मदिरा मोह जागेको छ । कुनै बेला पैसा छोए पाप लाग्छ भनेर पैसा नछुने समुदायको रिति रिवाज संस्कार संकटमा छ । पुराना राउटे परम्पराको निरन्तरता चाहान्छ भने युवक राउटेहरु आधुनिक जीवनशैली सँग रमाउन थालेका छन् । यसै कारण दुई पूस्ता विचका कुरा नमिल्दा नेतृत्व भन्दा आफु खुशी चल्दा समुदायमा समस्या बल्झिदै गएको छ ।