गाउँ –गाँउ पुगेर योजना सम्झौता गर्दा किसान खुशी

दैलेख । चालु आर्थिक बर्षको योजना कार्यान्वयनका लागि जिल्ला कृषि विकास कार्यालय दैलेखले गाउँ गाउँ पुगेर योजना सम्झौता अभियान थालेको छ । योजनामा दोहोरपन आउन नदिन र उपभोक्तालाई सास्ती नहोस र विवाद रहित योजना बनाउनका लागि कृषिले घुम्ती योजना अभियान थालेको हो ।
घर दैलोमा पुृगेर योजना सम्झौताले पारदर्शिता,सुशासन योजनाका लागि आउने विवादलाई गाउँमै टुग्याउनको लागि यो अभियान थालेको जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख घनश्याम कार्कीले बताए । उनले भने,हामीले थालेका यो नयाँ अभ्यास हो । गाउँमा पुगेर योजना सम्झौताले उपभोक्ता समितिको खर्च र समय बचत हुन्छ । अर्काे तर्फ त्यो ठाउँमा योजना आवश्यक होकी होइन भनेर जानकारी हुने भएकाले हामीले घुम्ती योजना ल्याएका हौं । यसले पालिका र कृषि कार्यालयबाट योजनालाई डुब्लीकेशन हुनबाट निराकरण गर्नेछ ।
सधै जिल्ला सदरमुकाम पुगेर योजना सम्झौता गर्दै आएका किसान भने आफ्नै घर आँगनमा पुगेर योजना सम्झौता गर्न पाउँदा खुशी छन् ।दुल्लू नगरपालिकाको योजनाको सम्झौता फाईल बुझदै दुल्लु नगरपालिका २ का केशव विकले खुशी हुदै भने,यहाँ भन्दा पहिला दुई तीन लगाएर योजना सम्झौता हुन्थ्यो अहिले गाउँमै आएर योजना सम्झौता भयो । गाउँमै योजना सम्झौताले विकासले दिगोपना पाउने बताए ।
किसानको समय र खर्च भयो । योजना सम्झौता भएको जानकारी भयो । यो पनि एउटा सार्वजनिक सुनुवाई हो यसले गर्दा विकासमा नागरिक समेतको अपनत्व गराउँछ ।
विक जस्तै अनुभव ठाटीकाँध पालिकाका अर्जुनबहादुुर बुढाले सुनाए । उनले भने,पहिला उपभोक्ता समिति बनाउँदा नेता अगाडी लागेका कार्यकर्ताले आ आफना मान्छेलाई बनाउँथे,जानकारी हुदैन थियो,दुईचार जनालाई जानकारी पाउँथे , कति पैसा हो जानकारी हुदैन थियो ।अरु नागरिक पनि रुची राख्दैन थिए । यो बेला गाउँघरमै योजना सम्झौता हुँदा सबै किसानले थाहा पाएका छन् । बल्ल सिंहदरबार गाउँमै आयो जस्तै भयो,उनले भने ।
जिल्ला कृषि कार्यालयबाट चालु आर्थिक बर्षमा साना सिचाईका ७३ योजना छन् । निर्वाचन क्षेत्र २ को आठविस नगरपालिकामा ४ वटा,ठाटीकाँध गाउँपालिका ५ वटा,चामुण्डाविन्द्रासैनी नगरपालिकामा ३ वटा,भैरवीगाउँपालिका ११ वटा र दुल्लू नगरपालिकामा १० योजनाको सम्झौता भएको कार्यालय प्रमुख कार्कीले जानकारी दिए ।
त्यसैगरि निर्वाचन क्षेत्र नं १ नौमुले गाउँपालिका ८ वटा,भगवतीमाई गाउँपालिका ४वटा,गुराँस गाउँपालिकामा १ वटा,डुगेश्वर गाउँपालिकामा २ वटा,नारायण नगरपालिका २ वटा र महाबु गाउँपालिका १२ वटा गरि ६२ योजना सम्झौता गरिएको छ । बाँकी योजना केही विवादका कारणले रोकिएको तत्काल विवाद समाधान गरि सम्झौता हुने प्रमुख कार्कीको भनाई छ ।
जिल्ला कृषि कार्यालय दैलेखले थालेको यो अभ्यास पहिलो हो । कृषि कार्यालय बढाएको यो अभियानलाई अन्य विकासे कार्यालयले सिक्न जरुरी छ । टोल विकासमा गरिने योजनाले उपभोक्ता समितिलाई विवाद रहित मात्र बनाउँदैनन् । उपभोक्ताले पाउनु पर्ने सुचना र पारर्शिताको काम गरेको हुन्छ भने विकासप्रति नागरिकको अपनत्व हुन्छ दिगो विकासमा टेवा पुग्छ ।