राराको सौन्दर्य (फोटो फिचर )
सुर्खेत । कर्णाली भन्ने वित्तिकै रोग,भोक,अशिक्षा, अन्धविश्वासले चिनिन्छ । तर प्राकृतिक सौन्र्दयको वर्णन बारे त्यति चर्चा परिचर्चा गरिदैनन् । स्वर्गकी अप्सराको उपनाम पाएको मुगुको रारा ताल । प्राकृतिकले उपहार दिएको रारा तालले साच्चै नै पिडा भुलाई दिन्छ । राराले सारा राजमार्गका पिडालाई कत्ति पनि सम्झिन दिदैन ।
आँखाका नानी रारातालसँगै लुटीपुटी हुन्छन् । केही दिन अगाडी रारा पुगेकी भरतपुर चितवनको हिमा बास्तोलाले रारा सोचे भन्दा फरक रहेको बताईन । उनले भनिन,रारा साँचिकै रारा रहेछ । यात्राको पिडा दुःख विर्सियो । रारा चालु आर्थिक बर्ष यतामात्र झण्डै ५ हजार भन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेका स्थानीयबासी बताउँछन् ।
राराताल शान्त रंगिन पनि रहेछ । आकाश पहाड,हिमाल र त्यहाँको बनजंगलका लागि रारा ऐना पनि रहेछ । ती आकाश पहाड,हिमाल र जंगलले कतै केही दांग पो लागेको छ की विहानाको ८ बजेदेखी ११ बजेसम्म रारालाई ऐना जसरी हेर्न रहेछ । त्यसैले रारालाई प्राकृतिको ऐना भन्दा फरक पर्दैन । छिन छिनमा रंग बदल्ने राराले पर्यटकको मनलाई मोहनी नै लगाईदिन्छ । बेला बेला रंगिन हुने राराको दैनिक नित्यकर्म रहेछ ।
स्वच्छ,सुन्दर र शान्त देखेर होला हिमालका हिउ समेत रारा देखेर मन्द मुस्कुराई रहेका देखिन्छ भने राजमार्गमा होटलको व्यवस्था नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको चितवनकै रामहरि श्रेष्ठले दुखेसो पोखे । उनले भने,बाटोमा राम्रो खाना वस्नको व्यवस्था छैन । रारा आउँदाखेरी पर्यटक प्रति गरिने व्यवहार पनि राम्रो देखिएन । यदी रारामा पर्यटक भित्राई कर्णाली प्रदेशको समृद्धि गर्ने हो सुर्खेत रारा पुगुन्जेल सम्म खाना बासको राम्रो व्यवस्था हुनुका साथै पर्यटक सँग बोलिने भाषामा समेत सुधार गर्नुपनर्छ ।
तर आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल देशकै गहना हो । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको यो ताल सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको थियो भने ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । तालको औसत लम्बाइ ५ किलोमिटर , चौडा ३ किलोमिटर र गहिराइ १६७ मिटर छ । रारामा पर्यटक बढाउनकै लागि डडेलदुरामा रारा आएको सुरेश साँवदले बताए ।
रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइन्छन् । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ ।
रारा ताल जानका लागि बर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि मानिसहरु जाने गर्छन् । रारा तालको पूरा आकृति नियाल्न ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टपबाट हेर्न सकिन्छ । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदुरपश्चिमका ६ वटा जिल्लासमेत देख्न सकिन्छ । रारा तालको किनारै किनार पुरै एक फन्को मार्न ५ घण्टा लाग्छ ।रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ । मिली चौरमा सवारी साधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नु पर्छ । तर, पैदल यात्रा गर्न नसक्नेहरुका लागि घोडाहरुको व्यवस्था छ ।
सवारी साधन छोडेपछि करीब ३० मिनेटको यात्रापश्चात तालको छेउ पुग्न सकिन्छ । तालको छेउ पुगेपछि हिडाइँको थकान सबै मेटिने गर्छ । कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतदेखि दुई दिनको सवारी साधनमा यात्रा पश्चात पुग्न सकिन्छ । अथवा नेपालगञ्जदेखि ४० मिनेटको हवाइ यात्रा पश्चात मुगुको ताल्चा विमानस्थल अनि २ घण्टा पैदल यात्रा पश्चात रारा पुग्न सकिन्छ ।
राराबाट चंखेली हिमाल,ऋण मोक्ष हिमाल,छायानाथ हिमाल,सजिलै नियाल्न सकिन्छ ।