Skip to main content

दर्शनशास्त्र : वस्तुपूजा छलछामको परिणाम

वस्तुपूजा (जडपूजा) : सामाजिक सम्बन्ध (आर्थिक, विचारधारात्मक, आदि) तथा तदनुरूप दृष्टिकोण, जसले वस्तुहरूलाई विशिष्ट सामाजिक गुणहरूले युक्त मान्दछ र मानव संस्कृतिबाट उत्पन्न विशेषताहरूलाई केही प्राकृतिकजस्तो वस्तु मान्दछ। अधिभूतवादी भौतिकवादले वस्तुपूजालाई केवल छलछामको परिणाम मात्र मान्दथ्यो, जबकि मार्क्सवादले यसको वस्तुगत सारलाई उद्घाटित गर्‍यो। ऐतिहासिक दृष्टिले वस्तुपूजाको सबभन्दा पहिलो रूप आदिम मानिसहरूको अत्यन्त निम्न सांस्कृतिक स्तरको परिणाम थियो, जब वस्तुहरूलाई मानिसको जीवनमा प्रभाव पार्ने चमत्कारिक शक्तिले युक्त मानिन्थ्यो। वस्तुपूजाका तत्वहरु प्रायः सम्पूर्ण वर्तमानकालीन धर्महरूमा बचेका छन्।

माल, विशेषगरी पूँजीवादी उत्पादनले वस्तुपूजालाई दैनिक व्यवहारको लक्षण बनाउँदछ। यसको सबभन्दा सरल रूप मालको जडपूजा हो, जसको अर्थ त्यसको मानवीकरण र साथसाथै त्यसका उत्पादकहरूको वस्तुकरण हो। उत्पादकले आफ्ना सम्बन्धहरूलाई कामको क्रममा व्यक्तिहरूको बीचमा प्रत्यक्ष सामाजिक सम्बन्ध होइन, बरु व्यक्तिहरूको बीचमा भौतिक सम्बन्ध र वस्तुहरूको बीचमा सामाजिक सम्बन्ध मान्दछन्। वस्तुपूजा द्रव्य तथा सुनको पूजामा, पूँजीसँग श्रमबाट स्वतन्त्र रूपमा स्वयं आफ्नो वृद्धि गर्ने शक्तिको अस्तित्व मान्नमा, सत्ता र राजनीतिक संस्थानहरूका प्रतीकहरूप्रति अन्धश्रद्धाभक्तिमा विचारधारात्मक अवधारणाहरू तथा नाराहरूमा चमत्कारिक शक्तिको अस्तित्व मान्नमा प्रकट हुन्छ।

यी सम्पूर्ण विषयहरूमा मानव क्रियाकलाप (भौतिक अथवा सांस्कृतिक) का परिणामहरूलाई रहस्यमय स्वतन्त्रता तथा मानिसहरूमाथि सत्ता जमाउने क्षमता प्रदान गरिन्छ। वस्तु पूजाका मूलहरू कर्ता तथा विषयको बीचमा सम्बन्धको विकृति तथा विपरीत क्रममा, सामाजिक सम्बन्धहरूको वस्तुकरण र परकीयकरणमा, अर्थात् मानिसलाई कुनै वस्तुको स्तरमा अथवा वस्तुहरूका कार्यहरूको सम्पादकमा सीमित गर्ने कार्यमा निहित छन्। समाजवाद तथा साम्यवादको निर्माणमा वस्तुपूजाका सम्पूर्ण स्रोतहरू तथा रूपहरूमाथि नियन्त्रण प्राप्त गरिन्छ र मानिसहरूको बीचमा वास्तविक व्यक्तिहरूको रूपमा सम्बन्ध स्थापित हुन्छ।

वस्तुगतवाद : यथार्थप्रति एउटा दृष्टिकोण, जसानुसार दार्शनिक ज्ञान अन्वेषणलाई आलोचनात्मक मूल्यांकन तथा पक्षधरता मूलक निष्कर्षहरूसम्म, मूल्यहरूको विषयमा निर्णयहरूसम्म पुर्‍याउनमा समर्थ छ, त्यसकारण दार्शनिकहरू यिनीहरूबाट अलग रहनुपर्दछ। वस्तुगतवादले चिन्तनको क्षेत्रलाई सीमित गरिदिन्छ र सामाजिक दृष्टिकोणका मुख्य समस्याहरूको समाधानको काम आत्मगतवादी विचारधाराको लागि छोडिदिन्छ। त्यसकारण वस्तुगतवादले आत्मगतवादमा सदा आफ्नो अनुपूर्ति प्राप्त गर्दछ र त्यो हुने कुराको पूर्वापेक्षा गर्दछ। वस्तुगतवादले विज्ञानलाई मूल्यहरूप्रति तटस्थ घोषित गर्दछ। मार्क्सवादले यो सिद्ध गरेको छ कि विश्वदृष्टिकोणको तटस्थता असम्भव छ र वस्तुगतवाद तथा आत्मगततामाथि नियन्त्रण प्राप्त गरेर त्यो वैज्ञानिक वस्तुगतता तथा पक्षधरताको स्तरसम्म माथि उठ्न सफल भएको छ।

वाणी (वाक्) : मानिसको यस्तो क्रिया, जुन मानिसद्वारा भाषाको माध्यमबाट अन्य मानिसहरूसँग सम्पर्क गर्न, आफ्ना विचारहरूलाई अभिव्यक्त गर्न र सम्प्रेषित गर्नमा अन्तर्निहित छ। वाणी भाषाको प्रयोगको प्रक्रिया हो। वाणीको माध्यमबाट मानिसको चेतनामा जगतको परावर्तन निरन्तर रूपले बढी पूर्ण हुँदै जान्छ, त्यो चीजबाट समृद्ध बन्दै जान्छ, जुन सामाजिक चेतनामा परावर्तित हुन्छ, र मानव जातिका सम्पूर्ण सामाजिक उत्पादक व्यवहारसँग जोडिएको हुन्छ। यो सम्पर्कमा विचारहरूको निरन्तर रूपले आदान-प्रदान भइरहन्छ : एकातिर, अरूका विचारहरूको बोध र तिनीहरूमा पारंगत तथा अर्कोतिर, स्वयं आफ्ना विचारहरूको निरूपण तथा तिनीहरूको अभिव्यक्ति। यो सम्बन्धमा वाणी अरूको वाणीको बोध र ज्ञानको रूपमा निष्क्रिय वाणी तथा स्वयं आफ्ना विचारहरू, भावनाहरू र इच्छाहरूको कथनको रूपमा सक्रिय वाणीमा विभक्त हुन्छ।

जुन वक्ता र श्रोताको बीचमा विभक्त हुन्छ, त्यो वाणीको संरचनाद्वारा मनोवैज्ञानिक दृष्टिले एउटा अखण्ड सम्पूर्णमा एकताबद्ध हुन्छ : बोल्दा मानिसले सुन्दछ र स्मरण गर्दछ, सुन्दा र स्मरण गर्दा मानिसले बोल्दछ। वाणीका मुख्य प्रकार हुन् : मौखिक, अर्थात् उच्चारित तथा श्रुत, र लिखित। लिखित प्रकारको वाणी मानव जातिको इतिहासमा मौखिक प्रकारको वाणीभन्दा धेरै पछि प्रकट भयो र चित्र लेखनदेखि समकालीन वर्ण लेखनसम्म धेरै चरणहरूबाट गुज्रिएर विकसित भयो। वाणी भाषा शास्त्र, मनोभाषाशास्त्र तथा मनोविज्ञानको अध्ययनको विषय हो, जसले भाषाको पारंगति, मानिसको निजी विकासको क्रममा वाणीको गठनका प्रक्रियाहरू, त्यसको प्रभाव, बोध, स्मरण तथा उच्चारणका अवस्थाहरूको अध्ययन गर्दछन्।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: