पाकिस्तानमा तहरीके तालिबानले गर्यो आत्मघाती आक्रमण, ३ जनाको मृत्यु
पाकिस्तानमा सक्रिय आतंकवादी संस्था तहरीके तालिबानका एक आत्मघाती आक्रमणकारीले आइतवार बलोचिस्तान प्रान्तमा विस्फोट गराउँदा तीनजना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
घटनामा २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
क्वेट्टामा रहेको मास्तुङ सडकस्थित फ्रन्टियर कोर्प्स चेकपोस्टलाई आक्रमणले तारो बनाउन खोजेको क्वेट्टा प्रहरीका डीआईजी अजहर अक्रमले बताए ।
घाइते हुनेमध्ये १८ जना सुरक्षाकर्मी र दुईजना सर्वसाधारण भएको पनि उनले जानकारी दिए । हताहतीको संख्या बढ्न सक्ने उनको भनाइ छ ।
बलोचिस्तानको प्रतिआतंकवाद विभागका अनुसार, यो आत्मघाती आक्रमण थियो र सोना खान चेकपोस्ट नजिक गरिएको थियो ।
प्रतिबन्धित समूह तहरीके तालिबान पाकिस्तानले आक्रमणको जिम्मेवारी लिएको छ । काबुलमा सरकार परिवर्तन भए पनि पाकिस्तानको समस्या अन्त्य नहुने सकेत त्यस समूहले दिएको छ । पाकिस्तानले अफगानिस्तानमा लुकेर बसेका पाकिस्तानी तालिबानीहरूलाई तालिबानले नियन्त्रणमा लिने आशा गरेको छ ।
