बिटक्वाइन के हो, कस्तो छ यसको भविष्य ?
काठमाडौं। क्रिप्टोकरेन्सीको लोकप्रियता पछिल्लो केही समयमा निकै उछालिएको छ। त्यसैले कयौँ व्यक्तिले यसमा लगानी गरिरहेका थिए। तर अब भने विभिन्न देशहरूमा गैरकानूनी रहँदा समेत क्रिप्टोकरेन्सीको मूल्य लगातार रुपमा घट्दैछ।
यसको कारणको रुपमा क्रिप्टोकरेन्सी तथा डिजिटल करेन्सी सम्बन्धी नियमनकारी व्यवस्थाहरूलाई मानिएको छ। बजारको उतार चढावको यो विषयभन्दा बाहिर गएर आज हामी तपाईंलाई क्रिप्टोकरेन्सीको सुरुवात तथा यसलाई बनाउनुको कारणको विषयमा चर्चा गर्दैछौँ।
बिटक्वाइन विश्वको सबैभन्दा पुरानो र लोकप्रिय क्रिप्टोकरेन्सी हो। यो करेन्सी लगानीकर्ताको पहिलो रोजाइमा हुने गर्दछ। वर्षैपिच्छे यसले लगानीकर्ताको विश्वास जितेको छ। तर बिटक्वाइनका सर्जकलाई अहिलेसम्म कसैले देखेको भने छैन।
यो डिजिटल करेन्सी सन् २००८ मा बनाइएको थियो। ओपन सोर्स सफ्टवेयरको रुपमा यसलाई सन् २००९ मा सार्वजनिक गरियो। बिटक्वाइन बनाउनेको नामको प्रसंग आउँदा सातोसी नाकामोतो नामलाई सम्झिने गरिन्छ।
तर यो नाम कुनै व्यक्तिको हो वा समूहको भन्ने पनि यकिन छैन। सन् २००८ मा बिटक्वाइनसँग जोडिएको एउटा प्राज्ञिक श्वेतपत्र सार्वजनिक भएको थियो। जसको शीर्षक ‘बिटक्वाइनः अ पियर(टु(पियर इलेक्ट्रोनिक क्याश सिस्टम’ राखिएको थियो।
जसअनुसार यसलाई डिजिटल करेन्सी अर्थात डिजिटल मुद्रा भनिएको छ। यसमाथि कुनै पनि सरकारको नियन्त्रण हुने छैन र यसमा हस्तक्षेप गर्न सक्दैनन्। सन् २००९ मा यो सफ्टवेयर रिलिज हुँदा बिटक्वाइन नेटवर्क सार्वजनिक गरिएको थियो।
आजको समयमा यो सफ्टवेयर ओपन सोर्स रहेको छ र जसले पनि यसलाई हेर्न वा यसमा योगदान दिन सक्छन्। बिटक्वाइन तीन ओटा सिद्धान्तमा रहेर काम गर्दछ। यो माग र आपूर्ति, क्रिप्टोग्राफी र केन्द्रिकृत नेटवर्कमा सञ्चालन हुन्छ।
यहाँनिर ध्यान दिनुपर्ने विषय के छ भने सन् २००८ मा आर्थिक मन्दी पछि डिजिटल करेन्सीको आइडिया ल्याइएको थियो। यो डिजिटल करेन्सी वस्तु तथा सेवा विनिमय मूल्यका लागि समेत परिचित छ। बिटक्वाइन करेन्सी ब्लकचेन प्रविधिमा काम गर्दछ।
यसलाई व्यापक कम्प्युटिङ सिस्टको माध्यमबाट माइनिङ वा उत्पादन गरिन्छ। यद्यपि यो निकै कठिन प्राविधिक प्रक्रिया हो। त्यसका लागि इन्टरनेटका साथै निकै उच्च विद्युत पावर सप्लाइ आवश्यक पर्दछ।
यसको मूल्य धेरै हुनुको कारण बिटक्वाइन सीमित सङ्ख्यामा मात्रै उपलब्ध छ। अहिले कयौँ कम्पनी भुक्तानीको रुपमा बिटक्वाइन स्वीकार गर्न थालिसकेका छन्। तर नेपाल लगायतका कयौँ मुलुकमा यो प्रतिबन्धित छ।
