चाडपर्व लक्षित ठाटिकाँध बजार अनुगमन सम्पन्न

दैलेख । आगामी चाडपर्वलाई लक्षित गर्दै ठाटिकाँध गाउँपालिकाले बजार अनुगमन गरेको छ। गाउँपालिकाको आयोजनामा मंगलबार गाउँपालिकाको केन्द्र ठाटिकाँध बजारमा गरिएको अनुगमनमा उपाध्यक्ष देविराम बडुवालको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधिहरूको टोलीले सहभागीता जनाएको थियो।
अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्याय, जिल्ला प्रशासन कार्यालय दैलेख, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रतिनिधि, तथा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू समेत सहभागी थिए।
अनुगमनका क्रममा खाद्यान्न तथा खुद्रा पसल, होटल, मेडिकल, मासु पसललगायत विभिन्न व्यवसायिक प्रतिष्ठानहरूको निरीक्षण गरिएको थियो। सो क्रममा म्याद नाघेका खाद्य सामग्री, गैह्रस्तरीय वस्तु तथा करको दायराभित्र नपरेका व्यापारीहरूलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका उपाध्यक्ष तथा अनुगमन टोली संयोजक बडुवालले विगत देखीनै गाउँपालिकाको केन्द्र ठाटिकाँध बजारमा अनुगमन गरिएको उल्लेख गर्दै, “अनियमितता र गुणस्तरहीन सामान बिक्री रोकथामका लागि कडाइ गरिएको छ। अबका दिनमा वडास्तरीय बजारहरूमा समेत निरन्तर अनुगमन गरिनेछ,” भन्नुभयो।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले उपभोक्ताको हितलाई ध्यानमा राख्दै नियमित बजार अनुगमन गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले बजारमा उपलब्ध वस्तुहरू नियमानुसार बिक्री वितरण भईरहेको छ कि छैन भन्ने तथ्यांक संकलन गर्न पनि अनुगमन गरिएको जानकारी दिनुभयो।
अनुगमनका क्रममा बरामद गरिएका म्याद नाघेका र अस्वस्थकर वस्तुहरू सबैको रोहबरमा नष्ट गरिएको गाउँपालिकाले जनाएको छ।