कारोबारमा बैंक र लघुवित्तले नयाँ रेकर्ड बनायो

काठमाडौं । मौद्रिक नीति सार्वजनिकपछिको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । आइतबार २९ अंकले बढ्दै नेप्से २७६०.८० को बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से १.०६ प्रतिशतले बढ्यो ।
उच्च अंकको वृद्धिका बिच आइतबार धेरैजसाे समूहको सूचकमा वृद्धि भयो । सबैभन्दा बढी लघुवित्त ३.५० प्रतिशत र बैंक ३.३७ प्रतिशतले वृद्धि भयाे । यद्यपि, जलविद्युत, सामूहिक लगानी, निर्जीवन बिमा, अन्य र व्यापारको सूचकमा भने गिरावट आएको छ ।
कारोबारमा आएका १५८ कम्पनीको मूल्य बढ्यो भने ९० कम्पनीको मूल्यमा गिरावट आयो ।
विशेषगरी बैंक र लघुवित्त समूहमा उत्साह देखिएको कारण अधिकांश सोही क्षेत्रका कम्पनीको मूल्य बढेको छ । लामो समयपछि एनआईसी एसिया बैंकको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा वृद्धि भएको छ ।
परिसूचकमा वृद्धिसँगै आइतबार कारोबार रकममा पनि वृद्धि भयो । ३ करोड २५ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँमाथिको भयो ।
कारोबार रकमका हिसाबले पनि आइतबार एनआईसी एसिया बैंक अग्र स्थानमा नै रह्यो । जसको ३७ करोड १४ लाख रुपैयाँमाथिको सेयर किनबेच भएको छ ।
आइतबारको प्रिओपन सेसनमै सेयर बजार ३५.७२ अंकले बढ्दै २७६७.५३ को बिन्दुमा उक्लिएको थियो । प्रिसेसनमा १.३० प्रतिशतले नेप्से बढेको थियो ।
जसलाई पछ्याउँदै कारोबारको सुरुवाती मिनेटमै नेप्से २७९७को बिन्दुमा उक्लिएको थियो । यद्यपि, त्यसयता निकै उतारचढाव आयो । जसको प्रभाव नेप्सेमा सीमित अंककाे वृद्धि भयाे ।
सेयर बजारका जानकारका अनुसार छोटो अवधिका लगानीकर्ताको सक्रियता बढी हुँदा बजारमा उच्च उतारचढाव हुन पुगेकाे हाे । यद्यपि, आम मनोविज्ञान सुद्धढ हुँदा बजारमा वृद्धि कायमै रहेकाे हाे । आगामी दिनमा छोटो अवधिका लगानीकर्ताको सक्रियताले खास प्रभाव नपार्ने लगानीकर्ताहरूको बुझाई छ ।