अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित
सुर्खेत । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित भएका छन् । दलित मुक्ति मोर्चाले आयोजना गरेको कार्यक्रममा ६० वटा अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो ।
विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई हौसला दिन यो सम्मान गरिएको नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीले जानकारी दिए । कार्यक्रममा दलित समुदायबाट निर्वचित भएका जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ ।
सम्मानित अन्तरजातीय जोडीले पनि यो महत्वपूर्ण कार्यका लागि धन्यवाद दिएका छन् । जुम्ला गुठिचौर गाउँपालिकाका उमेश परियारले यस्तो कामले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको बताए ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारीले समानुपातिकको सूत्राधार माओवादीले यस्ता काममा जोड दिएको बताए । उनले संघीयता, समानुपातिक र समावेसीमा नेकपा माओवादी केन्द्रलेनै प्रथामिकता दिने भएकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन सहित सम्मान गरिएकोमा जोड दिए ।
कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद रणसिंह परियारले दलितले बनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति हटाउने प्रवृत्ति अब हट्दै जानुपर्ने भन्दै सम्मान कार्यक्रमका लागि जुम्ला नेकपा माओवादी केन्द्रलाई धन्यवाद ज्ञापन गरे । यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुँवरले अन्तरजाति विवाह गरेर समाजलाई परिवर्तन गर्न खोजेकोमा धन्यवाद दिइन् ।