ठाटीकाँध गाउँपालिकाले ल्यायो रु. ४७ करोड २३ लाखको बजेट
दैलेख । ठाटीकाँध गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ४७ करोड २३ लाख २९ हजार १५९ बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेको छ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, युवा तथा खेलकुद, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, उद्यमशीलता विकास तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेको हो।
बजेटमार्फत गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषि तथा पशुपालनको आधुनिकीकरण, स्थानीय उत्पादन प्रवर्द्धन, युवा स्वरोजगार तथा सडक, पुल, सिँचाइ र खानेपानीजस्ता पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
सुशासन, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखी स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै समृद्ध, आत्मनिर्भर र विकासमुखी ठाटीकाँध निर्माण गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ।
गाउँसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफलपछि आवश्यक सुझाव समेटेर पारित गरिने जनाइएको छ। प्रस्तुत बजेटले गाउँपालिकाको समग्र विकास तथा नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
