नेपालगन्जबाट काठमाडौं आउँदै गरेको बस राप्ती नदीमा दुर्घटना
दाङको राप्ती नदीमा बस खसेर दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।
नेपालगन्जबाट काठमाडौं आउँदै गरेको बस दाङको भालुबाङ नदीमा खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए।
भे १ ख ३९१२ नम्बरको रात्रिबस राप्ती गाउँपालिका भालुवाङस्थित राप्ती नदीमा शुक्रबार राति करिब १० बजे खसेको हो।
‘पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो। अन्य २०-२२ जनाभन्दा बढी घाइतेहरूको उद्धार गरी अस्पताल पठाएका छौं,’ प्रहरी निरीक्षक सिंहले भने, ‘त्यसमध्ये ५-७ जना जति बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो।’
दुर्घटनामा घाइते हुनेहरूलाई लमही र राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीमा पठाइएको छ।
उक्त बसमा कतिजना यात्रु थिए भन्ने खुलिसकेको छैन।
प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लगायतको टोलीले उद्धारको काम गरिरहेको छ।
