वैज्ञानिकले फेला पारे उत्तरी गोलार्धको निकै नजिक नयाँ आइल्याण्ड
वैज्ञानिकहरुको एक समूहले विश्वकै सबैभन्दा उत्तरी क्षेत्रमा रहेको आइल्याण्ड फेला पारेको बताएका छन् । वैज्ञानिकहरुको समूहले ग्रीनल्याण्डको तटीय क्षेत्रमा विश्वकै सबैभन्दा उत्तरी क्षेत्रमा रहेको आइल्याण्ड भेट्टाएको बताएका हुन् ।
गएको जुलाईमा वैज्ञानिकहरु सन् १९७८ देखि जानकारीमा आएको ओडाक आइल्याण्डको नमूना संकलनका लागि गएका थिए । तर उनीहरु सो ठाउँ भन्दा ८०० मिटर उत्तर तर्फ पुगे । उनीहरुले त्यहाँ ६० गुणा ३० (६०×३०) मिटर क्षेत्रफलको आइल्याण्ड फेला पारे । सो आइल्याण्ड उत्तरी गोलार्धको सबैभन्दा नजिक रहेको अहिलेसम्म थाहा भएको आइल्याण्ड हो ।
डेनमार्क र स्वीट्जरल्याण्डका अनुसन्धानकर्ताहरुको टोलीले आइल्याण्ड फेला पारेको टोलीका संयोजक वैज्ञानिक मोर्तेन रास्चले बिबिसीसँग बताएका छन् ।
यसअघिसम्म उत्तरी गोलार्धको सबैभन्दा नजिक रहेको ठानिएको ओडाक आइल्याण्डबारे थप जानकारीका लागि खोजीमा निस्किएका बेला आफूहरुले त्यो भन्दा पर अर्थात थप उत्तर तर्फ नयाँ आइल्याण्ड फेला पारेको उनले बताए ।
वैज्ञानिकहरुले नयाँ आइल्याण्डको नाम क्यूक्यर्ताक एभानार्लेकी राखियोस् भन्ने चाहन्छन्, जसको अर्थ ग्रीनल्याण्डिक भाषामा सबैभन्दा उत्तरी आइल्याण्ड हुन्छ ।
