हामीसँग एक्लै एक्लै लड्ने कसैको आँट छ : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दावी गरेका छन्।
अध्यक्ष ओलीले एक्लै लड्ने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्कसमेत गरे। शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग एक्लै चुनाव लड्न कुनै पनि राजनीतिक दलहरुले नसक्ने कुरा सबैलाई थाहा भएको दावीसमेत गरे।
आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘म सुन्दैछु– मोर्चाबन्दी गर्छन रे। एमालेसँग एक्लै लड्न सकिन्न भन्ने कुरा सबैलाई थाहा छ। एमालेसँग एक्लै लड्न कसैले पनि नचिताए हुन्छ। एमालेसँग एक्लै लड्न कोही सक्दैन। सबैलाई थाहा छ। त्यसकारण मिलाउने अरे, मिलेर लड्ने रे।
एक/एक दर्जनको १० वटा पार्टी मिल्यो भने कति हुन्छ? १० दर्जन जति नै त भयो होला नि, होइन? एक/एक दर्जन मान्छे भएको १० वटा पार्टी मिल्दा। १० दर्जन भनेको १ सय २० होइन्? १२० जनाको मोर्चा कसेर एमालेसँग लड्ने? माधव नेपालका नक्कली नामसमेत जोड्दा, दोहोरिएका समेत जोड्दा ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसद त्यतिजना मिलेर एमालेसँग लड्ने? उहाँहरु कुरामा लड्न सक्नुहुन्छ, काममा होइन, मैदानमा होइन, व्यवहारमा होइन।’
अध्यक्ष ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोइटिएर गएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्याए। एक/दुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मानेर नबस्ने भन्दै उनले माधव नेपालसहितका केही मान्छेले पार्टी छोड्दैमा पीर नमान्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।
अध्यक्ष ओलीले जनादेशबाट नभइ विभिन्न जालझेल गरेर आफूहरुलाई सत्ताबाट हटाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। विचार नभएको, देशको विकास भनेको के हो? भन्ने थाहा नै नभएकाहरु सत्तामा रहेको उल्लेख गर्दै उनले त्यस्ता षडयन्त्रकारीहरुलाई आफ्नो पार्टीले निर्वाचनबाटै एकमुष्ट जवाफ दिनुपर्ने बताए।
अध्यक्ष ओलीले चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दावीसमेत गरे। उनले पार्टीमा फुट नआएको पनि स्मरण गराए।
नुहाउँदा एक/दुई वटा केस झरेजस्तो केही मान्छेहरु आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो। उनले भने, ‘पार्टी फुटेको होइन। केही मान्छेहरु पतित भएका हुन्, बिग्रिएका हुन्। ती बिग्रिएका मान्छेहरुले पार्टी छोडेका हुन्।’
अध्यक्ष ओलीले माधव नेपालहरुलाई एक/दुई वटा कपालको केशको संज्ञा दिँदै उनीहरु हिँड्दै टाउको मुडुलो नहुने बताए। उनले भने, ‘नुहाउँदा खेरी एक, दुईटा कपालको रौं झर्छ। जति दामी साबुन लगाए पनि, राम्रो, ब्रान्डेड साबुन लगाए पनि, छानेको पानीले नुहाए पनि, जेसुकै गरेपनि एक, दुईटा कपाल झर्छ। एक, दुईटा कपाल झर्दैमा टाउँको मुडुलो हुन्छ?’
