चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा
बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटीको छैटौं प्रारम्भिक बैठक आगामी नोभेम्बरमा राजधानी बेइजिङमा हुने भएको छ।
पार्टीको केन्द्रीय राजनीति विभागको मंगलबारको बैठकले छैटौं प्रारम्भिक बैठक आगामी नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो। पार्टीका महासचिव सी चीनफिङले केन्द्रीय राजनीति विभागको बैठकको अध्यक्षता गरेका थिए।
बैठकमा सार्वजनिक गरिएको कार्यसूचीअनुसार केन्द्रीय राजनीति विभागले छैटौं प्रारम्भिक बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ। बितेका सय वर्षमा पार्टीले हासिल गरेका प्रमुख उपलब्धिको समीक्षा प्रतिवेदनमा हुनेछ। -रासस
