माधव नेपालको दल दर्ताविरुद्ध सर्वोच्चमा ओलीको रिट दर्ता
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेकपा (एकीकृत समाजवादी)लगायतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। एकीकृत समाजवादी दर्ताविरुद्ध एमाले अध्यक्ष ओलीको वारेसनामामार्फत छुट्टाछुट्टै तीन रिट दर्ताका लागि पेस गरेका हुन्।
रिट निवेदनको पेसी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। रिट निवेदनमा साउन २५ गते कारबाही गरेका १४ सांसदलाई पार्टी र सांसदबाट निष्कासन गरिएको र त्यसको कार्यान्वयनका लागि संसद् सचिवालयलाई पत्र पठाउँदा कार्यान्वयन नगरिएको भनिएको छ।
त्यस्तै, ती १४ जनासँगै सुरुमा हस्ताक्षर नभएका झलनाथ खनाललाई समेत सनाखत गरी नयाँ दल दर्ता गरेको भन्दै आयोगविरुद्ध रिट दायर गरिएको छ। त्यसरी भएका पत्राचार र निर्णय बदरका लागि परमादेश माग गरिएको छ।
त्यस्तै, एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचित भएका लुम्बिनी प्रदेश सभाका २ सदस्यलाई कारबाही सिफारिस गर्दा पनि कार्यान्वयन नभएको भन्दै ओलीले रिट दायर गरेका थिए। उक्त रिट पनि शुक्रबारका लागि पेसी तोकिएको छ। विमलाकुमारी खत्री वली र अजय शाहीलाई राजनीतिक दलसम्बन्धी ऐनअनुसार कारबाही गरिएको र त्यसको कार्यान्वयन नगरिएको भन्दै पदमुक्तको मागसहित रिट दायर गरिएको हो।
