उत्तर कोरियामा भोकमरीको स्थिति आएपछि धनीका छोराछोरीलाई अपहरण गर्दै गरीब
उत्तर कोरियामा खाद्यान्न अभावका कारण भोकमरीको स्थिति आएपछि धनी परिवारका बालबालिकालाई अपहरण गरेर फिरौती माग्ने अपराध बढेको छ ।
हालैका सातामा कम्तीमा चारजना बालबालिकाको अपहरणको खबर छ ।
किम जोङ उनको देशमा खानेकुरा, इन्धन र दैनिक आवश्यकताका अन्य वस्तुको अभाव चर्किँदै गएको छ । देशमा कोरोना रोक्नका लागि सीमा बन्द गरिएपछि खाद्यान्न अभाव बढेको हो ।
कोरोनाभाइरस फैलिएमा देशको पुरानो र कमजोर स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने डर भएकाले सीमालाई कठोर रूपमा बन्द गरिएको थियो ।
त्यसमाथि बाढीपहिरोका कारण कृषि उत्पादन घटेको अनि अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण सामान आयात गर्न नसकेकाले जनतालाई खानै धौधौ परेको छ ।
किम आफैंले देश संकटमा रहेको स्वीकार गरेका छन् । सन् १९९० को दशकमा चार वर्ष भोकमरीमा बिताएको जस्तो स्थिति अहिले आएको किमले बताएका छन् ।
चोरीका घटनाहरू पनि व्यापक बढिरहेका छन् । देशका सैनिकहरूका साथै सर्वसाधारण पनि भोकभोकै छन् ।
अघिल्लो महिना ६ वर्षकी एक बालिका सोङचान काउन्टीमा घर नजिकै नदी किनारमा खेल्दै गर्दा अपहरणमा परेको खबर रेडियो फ्री एसियाले दियो ।
उनलाई अपहरण गर्ने व्यक्तिले उनको परिवारसँग पाँच लाख वन मागेको थियो । प्रहरीले अपहरणकारीको फोन ट्रेस गरेर उसलाई पक्राउ गरेको थियो । बालिकालाई सुरक्षित रूपमा मातापिताकोमा बुझाइएको थियो । अपहरणकारीको पुर्पक्ष चलिरहेको छ ।
यस्ता अन्य पनि घटनाको बारेमा रेडियो फ्री एसियाले खबर दिएको छ ।
