उत्तरको सामना गर्न थप शक्तिशाली ब्यालिस्टिक क्षेप्यास्त्र बनाइरहेको दक्षिण कोरियाको दाबी
एजेन्सि ।
दक्षिण कोरियाले तीन टनसम्मको वारहेड बोक्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र बनाइरहेको त्यहाँको सरकारी समाचार संस्था योनहापले खबर दिएको छ ।
सन् २०२२ देखि २०२६ सम्मको रक्षा योजना सार्वजनिक गर्ने क्रममा दक्षिणको रक्षा मन्त्रालयले क्षेप्यास्त्रको जानकारी दिएको हो । क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई स्तरोन्नति गर्ने तथा लामो दूरीको आर्टिलरीका विरुद्ध नयाँ इन्टरसेप्टरहरू तैनाथ गर्ने पनि मन्त्रालयको भनाइ छ ।
‘हामीले थप बलियो, बढी लामो दूरीको र ठ्याक्कै मार हान्न सक्ने क्षेप्यास्त्र बनाइरहेका छौं । त्यसबाट निवारणको सुनिश्चितता हुने तथा कोरियाली प्रायद्वीपमा शान्ति र सुरक्षा कायम हुनेछ,’ मन्त्रालयले बयान जारी गरेर बतायो ।
यी क्षेप्यास्त्रहरूमा ३५० देखि ४०० किलोमिटर दायरा भएको तथा तीन टनसम्म पेलोड भएको नयाँ हतियार पनि छ । यसले भूमिगत हतियार भण्डारहरूलाई नष्ट गर्न सक्छ । उत्तर कोरियाले आफ्ना आणविक हतियार जमीनमुनि लुकाएको विश्वास गरिन्छ ।
