दुर्घटनामा खुट्टा गुमाएका रमेशलाई एक लाख सहयाेग
सुर्खेत । सवारी दुर्घटनामा खुट्टा गुमाएपछि अपाङ्गता भएका एक व्यक्तिलाई एक लाख बढीको आर्थिक सहयोग गरिएको छ । दैलेखको भैरवी गाउँपालिका—३ चगत्राका रमेश सार्कीलाई एक लाख बढीको सहयोग गरिएको हो ।
रोजगारीका लागि भारत गएका सार्की कोरोना महामारी बढ्न थालेपछि नेपाल फर्कदै गर्दा बाँकेमा सवारी दुर्घटनामा परि खुट्टा गुमाएका थिए । आर्थिक अवस्था कमजोर भएपछि सार्कीलाई सहयोगार्थ दैलेखका युवा पुष्कर उपाध्याय, हेमा खड्का, कविराज केसीलगायतले अभियान चलाएका थिए । अभियानका क्रममा संकलन भएको एक लाख १० हजार ८४५ रूपैयाँ उनको घरमै पुगेर भैरवी गाउँपालिका ३ का वडाध्यक्ष देवि भण्डारीको रोहवरमा रकम हस्तान्तरण गरिएको उपाध्यायले जानकारी दिए ।
‘घरको आर्थिक अवस्था कमजोर भएपछि रोजगारी गर्न भारत जानुपर्ने बाध्यता थियो, फर्किने बेला दुस्खद् घटना भयो,’ उपाध्यायले भने, ‘उहाँलाई हामीले गरेको सहयोगले दैनिक खर्च चलाउन सहज होस् भन्ने हेतुले अभियान संकलन गरेर रकम जुटायौं, आजै हस्तान्तरण गरेका छौं ।’ उक्त सहयोग रकम देश तथा विदेशमा रहेका नेपालीहरूले जुटाईदिएको उपाध्याय बताउछन् । सहयोग गरेको रकमले कृत्रिम खुट्टा राख्नमा सहजता हुने अपेक्षा राखेको उनको भनाई छ ।
