विश्वविद्यालयका कार्यक्रमहरुलाई व्यवस्थापन गर्न क्याम्पसहरु अगाडि बढ्न जरुरी
सुर्खेत बहुमुखी क्याम्पसले उच्च शिक्षा प्रदायक संस्थाको व्यवस्थापकीय सुधारः चुनौती र अवसर विषय छलफल कार्यक्रम गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माको प्रमुख आथित्यतामा उक्त छलफल कार्यक्रमको आयोजना गरिएको थियो । सुर्खेत बहुमुखी क्याम्पस र आन्तरिक गुणस्तर सुनिश्चितता समितिको संयुक्त आयोजनामा छलफल कार्यक्रमको अयोजना गरिएको थियो ।
छलफल कार्यक्रममा बोल्दै डीन प्रा.डा. शर्माले विश्वविद्यालय र क्यामपसले भोग्नु परेका समस्याका बारेमा जानकारी गराएका थिए ।
उनले भने, ‘सरकारले तलब खाने भन्दा बरु पैसा दिँदैन । १७ हजार शिक्षक तथा कर्मचारीको दरबन्दी भएको उक्त विश्वविद्यालयका प्राध्यापकहरुले काठमाडौं मात्र बस्न खोज्छन् । काठमाडौं बसेर विश्वविद्यालय अन्तर्गतका कयाम्पसहरुको स्तर उन्नती गर्न कठीन छ ।’ विश्वविद्यालयमा हुने राजनीतिक कारणले विज्ञापनहरु रोकिनेदेखि व्यवस्थापनमा समेत कठीनाई आउने गर्दछन् । तर ती कठीनाईलाई चिर्न आवश्यक छ ।
विश्वविद्यालयका कार्यक्रमहरुलाई व्यवस्थापन गर्न क्याम्पसहरु आफैपनि अगाडि बढ्न जरुरी रहेको शर्माको भनाई थियो ।
सरकारलाई लक्षित गर्दै विश्वविद्यालयका कार्यक्रम स्वीकृति गर्ने तर अर्थ मन्त्रालयबाट दरबन्दी नदिने गरेको उनले बताए ।
राजनीतिक दबाबलाई खबरदारी गर्दै मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादन तर्फ विश्वविद्यालयहरु लाग्नु पर्ने उनको भनाई थियो ।
प्रा.डा. महानन्द चालिसेले देशमा ८० प्रतिशत शिक्षाको भार त्रिभुवन विश्वविद्यालयले लिएको बताउँदै कर्णाली प्रदेशकै गौरव हुने गरी सुर्खेत बहुमुखी क्याम्पसलाई विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।
विश्वविद्यालयमा पहिले प्राध्यापकहरु सुध्रिनुपर्छ । अनि विद्यार्थीहरु कसरी ज्ञान आर्जन गर्न सकिन्छ भन्ने तर्फ लाग्नुपर्ने उनको भनाई छ।
