कोभिड–१९ पुनः संक्रमण हुन नदिन अपनाउने सुरक्षा रणनीतिबारे सुरक्षा समितिमा छलफल
कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता र अन्य चार मन्त्रीको सहभागितामा केन्द्रीय सुरक्षा समितिको बैठक बिहीबार गृह मन्त्रालयमा बसेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, परराष्ट्रमन्त्री डा. नारायण खड्का, रक्षामन्त्री डा. मीनेन्द्र रिजाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, मुख्य सचिव शंकरदास बैरागी सम्बन्धित मन्त्रालयका सचिव, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत गणेश अधिकारीसहितको बैठक मुख्यतया कोभिड–१९ पुनः संक्रमण हुन नदिन के– कस्ता सुरक्षा रणनीति अपनाउने भन्ने विषयमा केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
‘कोभिड–१९ को संक्रमण पुनः बढ्न नदिन यससँग सम्बन्धित मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरुसँग कार्यवाहक प्रधानमन्त्रीज्यूले छलफल गर्नु भएको हो,’ प्रवक्ता पोखरेलले भने, ‘बैठकमा चाडबाडको मुखमा भिडभाड बढ्ने र भिडका कारण कोभिडको संक्रमण बढ्न सक्ने अवस्थाबारे छलफल गरिएको थियो ।
बैठकमा नेपालमा चाडबाडका समयमा हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई कार्यवाहक प्रधानमन्त्री खाणले आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका थिए ।
