इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा, बटलर चम्किँदा रच्यो इतिहास
इंग्ल्याण्ड क्रिकेट टोली यूएईमा जारी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।
योसँगै उसले इतिहास रचेको छ । विश्वकप २०२१ मा सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्दै इंग्ल्याण्डले इतिहास रचेको हो । इंग्ल्याण्डले चार म्याच खेल्दा सबैमा जित हात पारेको छ ।
श्रीलंकाले भने चार म्याच खेल्दा तीनमा हार र एक खेलमा मात्र जित हात पारेको छ । आफ्नो चौथो खेलमा इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो ।
उसका लागि वानिन्दु हसरंगाले ३४, भानुका राजापाक्ष, कप्तान लसुन शनकाले २६/२६, चरिथा असलंकाले २१ र अभिष्का फर्नान्डोले १३ रन बनाए ।
बलिङमा आदिल राशिद, क्रिस जोर्डन, मोइन अलीले २/२, क्रिस वोक्स, र लियाम लिभिङस्टोन एक/एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६३ रन बनायो । उसका लागि जोस बटलरले शतकीय पारी खेले । उनले ६७ बलमा ६ चौका र ६ छक्कासहित अविजित १०१ रन बनाए ।
जारी विश्वकपमा शतक बनाउने बटलर पहिलो ब्याट्सम्यान बनेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बटलरको यो उच्च स्कोर हो । यसअघि यो प्रारूपमा उनको उच्च स्कोर अविजित ८३ रन थियो ।
त्यस्तै, आज कप्तान इयोन मोर्गनले ४०, जेसन रोयले ९, डेविड मलानले ६ र मोइन अलीले नटआउट १ रन बनाए । जोनी बेयरिस्टो भने शून्यमै आउट भए ।
बलिङमा वानिन्दु हसरंगाले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । त्यस्तै, दुश्मन्था चामेराले एक विकेट हात पारे ।
