ठाटिकाँधमा तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन
दैलेख । ठाटिकाँध गाउँपालिकामा अन्तर जिल्ला तथा अन्तर पालिका स्तरियत तेस्रो अध्यक्षकप खुल्ला भलिवल प्रतियोगिता सञ्चालन भएको छ ।
गाउँपालिकाद्धारा युवाहरुको माग बमोजिम हरेक वर्ष नियमित खेलकुदका कार्यक्रमहरु सञ्चालन हुने कार्यक्रम अन्तरगत “राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ दिपावलीको अवसरमा गाउँपालिकामा उक्त खेलकुद प्रतियोगित सञ्चालन गरिएको हो । कर्णाली प्रदेशका सबै जिल्लाहरु लगाएत शुदुरपश्चिमको अछाम जिल्लाका खेलाडिहरुका साथै दैलेखका ११ वटै पालिकाका खेलाडिहरुको सहभागिता रहेको उक्त खेलकुद प्रतियोगिता गाउँपालिकाको केन्द्र ठाटिकाँध बजार स्थित श्री कृष्ण माध्यामिक विद्यालयको खेलमैदानमा एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ ।
औपचारिक कार्यक्रममा गाउँपालिका स्थित विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्थानियबासी लगाएत खेलाडिहरु र खेलप्रेमीहरुको सहभागिता रहेको थियो । खेलकुद प्रतियोगिताको औपचारिक उद्धघाटन गर्दै ठाटिकाँध गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहले खेल जित्नु मात्र उपलव्धी नभएर हरेक खेलाडिहरुका लागि अनुशासन मुख्य चुनौतिको विषय भएकोमा जोड दिनुभयो ।
खेलकुद प्रतियोगितामा शुभकामना राख्दै गाउँपालिका उपाध्यक्ष देविराम बडुवालले गाउँपालिका भित्र विभिन्न खेलहरु खेलाउनका लागि खेलकुद मैनान नभएर समस्या भएको सन्दर्भ उठान गर्दै खेलाडीहरुको मागलाई मध्यनजर गर्दै खेलकुद मैदानको निर्माणको लागि गाउँपालिका सरकारले ठोस निर्णय गर्ने बताउनुभयो ।
खेल उद्धघाटन कार्यक्रम ठाटिकाँध खेलकुद विकास समिति अध्यक्ष दिक्पाल कुमार शाहीको अध्यक्षतामा भएको थियो भने सञ्चालन गणेश खनालले गर्नुभएको थियो ।
तिन दिन सम्म सञ्चालन हुने उक्त खेलकुद प्रतियोगितामा जिल्ला भित्र र बाहिरबाट १३ वटा समुहले भाग लिएका छन ।
