खनिज इन्धनको पक्षमा वकालत गर्नेहरुको समूह सबैभन्दा ठूलो
स्कट्ल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ मा कुनै पनि एक देशको भन्दा खनिज इन्धन उद्योगका प्रतिनिधि बढी रहेको खुलेको छ।
संयुक्त राष्ट्रसंघले सम्मेलन सुरु हुनुअघि कोपमा सहभागी हुनेहरुको सूची प्रकाशित गरेको थियो। ग्लोबल विट्नेस नामक संस्थाको नेतृत्वमा गरिएको सहभागीहरुको विश्लेषणमा खनिज इन्धन उद्योगसँग जोडिएका प्रतिनिधिहरुको संख्या ठूलो रहेको देखिएको बिबिसीले उल्लेख गरेको छ।
जलवायु सम्मेलनमा खनिज इन्धन उद्योग वा त्यससँग जोडिएका ५०३ जना सहभागी रहेको ग्लोबल विट्नेसले जनाएको छ।
उनीहरुले तेल तथा ग्यास उद्योगहरुको पक्षमा वकालत गर्नका लागि पुगेका र उनीहरुलाई प्रतिबन्ध लगाइनुपर्ने अभियन्ताहरुले माग गरेका छन्।
ग्लोबल विट्नेसकी मरी वर्थीले भनेकी छन्, ‘खनिज इन्धन उद्योगहरुले जलवायु संकट अस्वीकार गर्न तथा संकट समाधानका लागि वास्तविक कार्य गर्न दशकौँदेखि ढिलाइ गर्दै आएका छन्। त्यही कारण जलवायु सम्मेलनमा उनीहरुको सहभागिता ठूलो समस्या हो।’
‘उनीहरुकै प्रभावका कारण संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको २५ वर्ष हुँदा पनि उत्सर्जन कटौतीमा ठोस प्रगति हुन सकेको छैन’, उनले भनिन्।
जारी कोप–२६ मा झण्डै ४० हजार मानिस सहभागी भएका छन्। देशहरुमा सबैभन्दा धेरै प्रतिनिधि ब्राजिलका छन्। ब्राजिलबाट ४७९ जना प्रतिनिधि सम्मेलनका लागि आएको संयुक्त राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ। खनिज इन्धन उद्योगको पक्षमा वकालत गर्ने प्रतिनिधिहरुमध्ये केही क्यानडा र रुसका प्रतिनिधि पनि छन्।
वैज्ञानिकहरुले जलवायु परिवर्तनको कारक विश्वव्यापी तापमान वृद्धि नियन्त्रणका लागि खनिज इन्धनमाथिको निर्भरता हटाएर स्वच्छ ऊर्जामा जानुपर्ने बताउँदै आएका छन्।
