लगातार तेस्रो जित निकाल्दै अस्ट्रेलियाले जित्यो एसेज शृंखला
घरेलु टिम अस्ट्रेलियाले एसेज शृंखला अन्तिम दुई खेलअघि नै कब्जा गरेको छ।
मेलवर्नमा भएको तेस्रो टेस्टमा इंग्ल्यान्डलाई एक इनिङ्ग्स र १४ रनले पराजित गरेसँगै अस्ट्रेलियाले दुई खेलअघि सिरिज कब्जा गरेको हो।
यसअघि अस्ट्रेलिया पहिलो टेस्टमा ९ विकेट र दोस्रो टेस्टमा २७५ रनले विजयी भएको थियो।
तेस्रो टेस्टमा मंगलबार तेस्रो दिनमै जित निकाल्ने क्रममा अस्ट्रेलियाले इंग्ल्यान्डलाई दोस्रो इनिङ्ग्समा ६८ रनमै अलआउट गर्यो।
इंग्ल्यान्डका लागि कप्तान जोए रुटले सबैभन्दा बढी २८ रन जोड्दा बेन स्टोक्सले ११ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा अस्ट्रेलियाका स्कट बोलान्डले ६ विकेट लिए भने मिचेल स्टार्कले ३ विकेट हात पारे। बोलान्डले ७ ओभरमा १ मेडन राख्दा ७ रन मात्र दिए।
त्यसअघि पहिलो इनिङ्ग्समा इंग्ल्यान्ड १८५ रनमा अलआउट हुँदा अस्ट्रेलियाले २६७ रन जोडेको थियो।
दुई इनिङ्ग्सम गरी ७ विकेट लिएका बोलान्ड प्लेयर अफ दि म्याच भए।
