आज सार्वजनिक बिदा
काठमाडौं । आज राम नवमी । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन भगवान रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक रामको पूजाआराधना गरी मनाइँदैछ।
आज देशभरका राम मन्दिरमा विशेष पूजापाठ गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास रहिआएको छ।
पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उहाँको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएको धार्मिक विश्वास छ।
रामजानकी मन्दिरमा भारतबाट समेत ठूलो सङ्ख्या श्रद्धालु भक्तजन आउने गर्छन् । यसैबीच, राम नवमीका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।
