तालमेल ढाँचाबारे छलफल गर्न सत्ता गठबन्धनको चुनावी तयारी समिति बैठक बस्दै
स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति गरेका सत्तागठबन्धनका दलहरूले चुनावी ढाँचाबारे छलफललाई अगाडि बढाउने भएका छन्।
जिल्लाहरूबाट कुन दलको कस्तो अवस्था छ भन्नेबारे प्रतिवेदन आएपछि चुनावी तयारी तथा अनुगमन समिति बैठक बसेर तालमेल ढाँचाबारे छलफल गर्न लागेका हुन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिमा पाँचदलीय गठबन्धनबाट १० जना सदस्य छन्।
आज अपरान्ह ४ बजे बालुवाटारमा बैठक बसेर चुनावी ढाँचाबारे छलफल गर्ने तयारी छ।
यसअघि गठबन्धनका शीर्ष नेताको बैठकले प्रदेश, जिल्ला र पालिका तहमा पाँचदलीय प्रतिनिधि रहने संयन्त्र बनाउने निर्णय गरेको थियो। त्यो संयन्त्रले केन्द्रमा प्रतिवेदन पठाएको छ।
ती प्रतिवेदन अध्ययन गरेपछि चुनावी तालमेलको ढाँचाबारे छलफल हुनेछ। ०७४ को परिणामअनुसार तालमेल गर्ने वा अरू केही नयाँ मापदण्ड तयार गर्ने भन्नेमा दलहरूबीच छलफल भइरहेका छन्।
गत चैत १७ मा गठबन्धन बैठकले स्थानीय चुनावमा पाँचदल मिलेर जाने सहमति गरेका थिए। तर अहिलेसम्म कुन महानगर कसले लिने भन्नेजस्ता सहमति हुन सकेका छैनन्।
यसअघि चैत २३ मा पौडेल नेतृत्वको चुनावी तयारी तथा अनुगमन समितिको पहिलो बैठक बसेको थियो। उक्त बैठकमा चुनावी ढाँचाबारे प्रारम्भिक छलफल भएका थिए।
