लोप हुदै ढिकी जाँतो र हाते मुसल
विनायक (अछाम) । पछिल्लो समय ग्रामिण भेगबाट ढिकी जातो र हाते मुसले लोप हुदै गएका छन् । गाउँ घरमा भित्रिएका टुकटुके मिल भित्रिए र पानी घट्ट निर्माण भएपछि ग्रामिण भेगबाट कुटानी पिसानी गर्ने ढिकी जाँतो लोप हुदै गएका हुन् ।
ढिकी जाँतो लोप हुँदा विहानी र बेलुका पख ढिकी जाँतोले गुज्यामान हुने गाउँघरका बस्ती आजभोली सुनसान छन् । गाउँमा ढिकी जाँतोको आवाज सुनिन छाडेको छ । आवाज नसुनिदा गाउँघरका अन्नउत्पादन हुन छाडेको हो की भन्ने समेत भान हुन्छ । कि गाउँका सबै मानिस तराईको चामलको भरमा परेर परनिर्भर बनेका हुन की भनेर आँकलन गर्न सकिन्छ ।
विहानी कुखुराको भालेको डाँको सँगै उठेर कुटानी पिसानी गर्नुपर्ने बाध्यता भोगेका गाउँका महिलामा गाउँघरमा भित्रिएका पानीमिल,आधुनिक घट्टले गर्दा सुविधा ल्याएको अछाम पञ्चदेवल नगरपालिकाकाकी जानकी अधिकारीले बताईन । उनले भनिन,“पहिला ढिकी जाँतो र हाते मुसले गर्दा हामी महिलाकन दुःख हुना थियाँ । आधुनिक घट्ट र टुकटुके मिल आएपछि सुविस्ता भएको छ । कुटानी पिसानीको बचत भएको समयलाई बालबच्चाको सरसफाई तरकारी खेतीमा लगाउने गरेका छौं”उनले भनिन ।
तर आधुनिक घट्ट र टुकटुके मिलले गर्दा गाउँमा पाइने अर्गानिक अन्नको स्वाद नै फरक बनाई दिएको सोही ठाउँका मनिराम बुढाले बताए । “महिलाका दुःखमा कमी भएर के गर्ने । खाना स्वाद नै विगा¥यो । ढिकी र जाँतोमा कुटानी पिसानी जुन स्वाद पाइन्छ त्यो स्वाद ढिकी जाँतो सँगै हराउन थालेको छ” उनले भने । गाउँमा पर्यटक भित्राउनको लागि आधुनिक मिल र पानी घट्टले गर्दा पर्यटक रिजाउन सक्दैन,राम्रो हुदैन आम्दानी बढदैन । बरु नगरपालिका घटट् र मिल सँग सस्कार हराउन नदिन नगरपालिकाले ढिकी जाँतोलाई लोप हुन नदिन कार्यक्रम नै ल्याउनुपर्छ,बुढाले थपे ।
तर सोही नगरपालिका –४ कुची की लालसरा शाही भने ढिकी जाँतो सँगै महिलाका दुःख हटेकाले परिवर्तन भएको ठान्नुहुन्छ । सधै महिलाले चुलो चौकोमा सिमित रहने सेमिनार,गोष्ठी जान नपाउने हामी पछि परेका थियौं मिल र घट्टले गर्दा नगरपालिकामा हुने हरेक कार्यक्रममा सहभागी हुने गरेको केही चेतना जागेको बताईन ।
पञ्चदेवल नगरपालिकाले भने ढिकी जाँतोलाई पनि लोप हुन नदिनको लागि एक बस्ती एक ढिकी जाँतोलाई अनिवार्य गराउने लक्ष्य लिएको नगरप्रमुख देवराज देवकोटाले बताए । हामी आधुनिक परिवर्तन सँग महिलाका दुःख देखेर पानी घटट् बनायौं संस्कार बचाउनकै लागि ढिकी जाँतोलाई हटाउनै पर्छ भन्ने अडान लिएका छैनौं । संस्कार पनि बच्ने,महिलालाई सुखको लागि पानी घट्ट ,स्वादिलो खानाको लागि ढिकी जाँतो लोप हुन दिएका छैनौ उनले भने ।
पछिल्लो समय गाउँवस्तीबाट हातेमुसल,ढिकी जाँतो लोप हुदै गएपनि यहाँका बासिन्दा सँस्कार बचाउन र खानाको स्वाद कायम राख्न आएका पाहुनालाई ढिकी जाँतोमा कुटानी पिसानी गरेको खाना खुवाउने गर्छन ।
