सहिद पार्क नजिकै जंगलमा मृत भेटिएका जोडीको पहिचान खुल्यो
सुर्खेत । विरेन्द्रनगर नगरपालिकाको भैरब सामुदायिक बनमा रहेको सहिद पार्क नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका एक जोडीको पहिचान खुलेको छ। मृतकहरू दैलेख जिल्ला चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ की अन्दाजी २० वर्षीया सुनिता भण्डारी र ठाटिकाँध गाउँपालिका–२ का अन्दाजी २२ वर्षका सुरेन्द्र थापा रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार स्थानीयले जंगल क्षेत्रमा दुई जनाको शव देखेपछि खबर गरेसँगै प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलको प्रारम्भिक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी शवहरू पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ। हाल मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यस घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ भने मृतकका परिवारजन शोकमा डुबेका छन्। प्रहरीले घटनाको यथार्थ कारण पत्ता लगाउन सबै पक्षबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
