भौतिक र अनलाइन दुबै माध्यमबाट परिक्षा लिन मध्यपश्चिम विश्वविद्यालय तयार
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयले भौतिक उपस्थिति र अनलाइन दुबै माध्यमबाट परिक्षा लिन तयार रहेको भन्दै आन्दोलनरत विद्यार्थीहरुलाई सहमतीमा आउन आग्रह गरेको छ ।
विद्यार्थीहरुको मागलाई ध्यानमा राख्दै दुबै तरिकाले परिक्षा लिन आफुहरु तयार रहेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गर्न विद्यार्थी संगठनहरुलाई आग्रह गरेको हो ।
विश्वविद्यालयका उपकुलपती नन्द बहादुर सिंहले अनलाइन र भौतिक उपस्थिति दुबै माध्यमबाट विद्यार्थीहरुलाई रोज्न दिनेगरी आफुहरु परिक्षा लिन तयार रहेको जानकारी दिए ।
अधिकांश विद्यार्थीहरु भौतिक उपस्थितिमै परिक्षा दिन तयार रहेको भन्दै अन्य केही विद्यार्थीको मागको आधारमा अनलाइन र भौतिक उपस्थितिमा परिक्षा लिन सकिने बताएपनि आन्दोलनरत विद्यार्थीहरु अनलाइनमै परिक्षा हुनुपर्छ भनेर अड्डी कसेको उनले बताए ।
गत साल अनलाइन माध्यमबाटै परिक्षा लिएको भएपनि विश्वविद्यालयसँग टेक्नोलोजी अहिले नभएकाले गुणस्तरियता राम्रो नभएको बताउँदै अन्य विश्वविद्यालयहरुले पनि अनलाइन र भौतिक उपस्थिति दुबै माध्यम अबलम्बन गरेकाले आफुहरु पनि दुबै माध्यम अबलम्बन गर्न तयार भएपनि विद्यार्थीहरुले नमानेको सिंहको भनाई छ।
उनले भने ,‘ अब हुने परिक्षामा विद्यार्थीहरुले अनलाइनबाट परिक्षा दिने की भौतिक उपस्थितिमा दिने रोज्न पाउने छन्।’
यता, विद्यार्थी संगठनहरुले भने विश्वविद्यालयको यो प्रस्तावलाई स्वीकार गरेका छैनन । उनिहरुले पठनपाठनहरु अनलाइनमै भएकाले परिक्षा पनि अनलाइनमै हुनुपर्ने बताएका छन ।
