यातायात व्यवसायीबीच लफडा : सुर्खेत–नेपालगञ्ज जाने यातायातका साधन बन्द
सुर्खेत । सु्र्खेतदेखि नेपालगञ्ज जाने सार्बजनिक यातायात आजदेखि बन्द गरिएको छ । बाँकेमा रहेका यातायात व्यवासयीहरूले एकलौटी निर्णय लागू गरेपछि सुर्खेतबाट नेपालगन्ज जाने सबै सार्वजनिक यातायात बन्द गरिएका हुन ।
सुर्खेतबाट नेपालगन्ज गएका यातायातलाई सुर्खेत छुटाउने विषयमा एकपक्षीय निर्णय बाँकेको यातायात व्यवसायीले गरेपछि सुर्खेत–नेपालगञ्ज यातायात सेवा बन्द गरिएको सुर्खेतका यातायात व्यवसायिहरुले बताएका छन् ।
नेपालगन्जबाट सुर्खेत आएका सवारी दैनिक दिउँसो १२ बजेपछि नेपालगन्जका लागि छुट्ने गरेका थिए भने सुर्खेतबाट गएका सवारीहरू त्यहीअनुसार नेपालगन्जबाट सुर्खेतका लागि छुटाउने गरिएको थियो ।
बाँकेका यातायात व्यवसायीले एक पक्षिय निर्णय गर्दै सुर्खेतबाट गएका सवारीहरू साँझ ६ बजे छुटाउन नमिल्ने नियम बनाएपछि सार्वजनिक यातायात सेवा आज विहानदेखि बन्द गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले जानकारी दिए ।
उनले भने,‘ सरकारले सिन्डीकेट हटाइसक्दा पनि नेपालगञ्जका यातायता व्यवसायीहरुले सरकारी नीयमलाई कुल्चने काम गरेकोछ । जसरी नेपालगन्जदेखि सुर्खेत आएका सवारी छुटाउने गरिएको थियो त्यसैगरी नेपालगन्जबाट सुर्खेत आउने सवारी निर्वाध रूपमा चल्न पाउनु पर्छ।’
सुर्खेतका १२ ओटा यातायात प्रा.लि. छन् । यातायात बन्दहुँदा सुर्खेतबाट नेपालगन्ज जाने यात्रुहरू सुर्खेतमा अलपत्र परेका छन् ।
