अमिताभ बच्चनसहितका बलिउड कलाकार नेपाल आउदै
हिन्दी फिल्मका सुपरस्टार अमिताभ बच्चनसहित थुप्रै कलाकारहरु नेपाल आउने भएका छन्।
फिल्म सुटिङका लागि बलिउडका सुपरस्टार अमिताभ बच्चन सहित अनुपम खेर, बमन इरानी, निना गुप्तालगायत कलाकारहरु नेपाल आउने भएको भारतको अनलाइनपोर्टल पिंकभिल्लाले जनाएको छ ।
अगामी अक्टुबर महिनामा सुरज बर्जात्याको फिल्म उँचाइको सुटिङ नेपालमा हुने भएको हो। निर्देशक बर्जात्याले राजश्री प्रोडक्सनको ब्यानरमा मैने प्यार किया, हम साथ साथ है, विवाह र प्रेम रतन धन पायो जस्ता सुपरहिट फिल्मको निर्देशन गरिसकेका छन् ।
साथीहरुबीचको हुने मित्रतालाई फिल्मको कथावस्तुमा समेटिएको बताइएको छ।
पिंक भिल्लाको समाचार अनुसार सुरज बर्जात्यले फिल्म सुटिङका लागि स्थानको खोजी गरिरहेको र उनको पहिलो रोजाइ नेपाल बनेको हो। उनीहरु नेपालमा ४०–४५ दिनसम्म सुटिङ गर्ने बताइएको छ।ु
उक्त फिल्मलाई थ्री ह्विलर्स नामक कम्पनीले व्यवस्थापन गर्ने बताइएको छ। फिल्मको सुटिङ काठमाडौंदेखि लुक्ला, नाम्चे, लाङटाङ र मनाङमा समेत हुने बताइएको छ। सुटिङ अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनीले सञ्चार मन्त्रालयसँग अनुमति मागेको छ।
