आज फागु पूर्णिमा : हिमाली र पहाडी भेगमा होली पर्व मनाइँदै

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व बिहीबार मनाइँदैछ।
आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने यो वर्ष पछिल्ले समय सभ्य बन्दै गएको छ।
सडकमा कामविशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ।
यस पर्वका अवसरमा आइतबार काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्।
चीरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मयलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु प्रारम्भ हुन्छ।
फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। तराईमा भोलि होली मनाइँदै छ।
होली पर्वका अवसरमा थकालीहरू रङ्गीचङ्गी पोसाकमा सजिएर सपरिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन्। सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाइ रमाइलो गरिन्छ।