बेन्जेमाको ह्याट्रिकमा रियल मड्रिडको शानदार जित
स्पेनिश ला-लिगाअन्तर्गत आईतवार राति भएको खेलमा बलियो टोली रियल मड्रिडले सेल्टा भिगोलाई ५-२ गोलले पराजित गरेको छ।
रियलको घरेलु मैदान सान्टियागो बर्नेबाउमा करिब १८ महिना पछि भएको पहिलो खेलमा रियल मड्रिडका कप्तान करिम बेन्जेमाले ह्याट्रिक प्रहार गरेका थिए। तर खेलमा अग्रता भने पाहुना टोली सेल्टा भिगोले लिएको थियो।

खेलको चौथो मिनेटमा पाहुना टोलीका स्ट्राइकर सान्टी मिनाले गोल गरेका थिए। तर पहिलो हाफको २४औं मिनेटमा रियलले बराबरी गोल गर्न सफल भयो।
रियलका लागि कप्तान बेन्जेमाले बराबरी गोल गरेका थिए। यद्यपि खेलको ३१औं मिनेटमा सेल्टा भिगोले फेरि अग्रता लिन सफल भयो। यस पटक फ्रान्को सर्भीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।
/cdn.vox-cdn.com/uploads/chorus_image/image/69849752/1235219659.0.jpg?w=720&ssl=1)
पहिलो हाफमा एक गोलले पछि परेको रियलले दोस्रो हाफमा शानदार प्रदर्शन गर्यो। रियलका लागि बेन्जेमाले दोस्रो हाफको सुरुवाती मिनेटमै बराबरी गोल गरेका थिए।
त्यस्तै खेलको ५४औं मिनेटमा रियलले खेलमा पहिलो पटक अग्रता लिन सफल भयो। यस पटक भने रियलका अर्का फरवार्ड भिनिसियस जूनियरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

खेलको ७२औं मिनेटमा रियलले अर्को गोल थप्यो। यसै सरुवा बजारमा रियलले फ्रान्सको रेनेबाट भित्र्याएको मिडफिल्डर एडुवार्डो कामाभिंगाले डेब्यूमा गोल गर्न सफल भए।
त्यसपछि रियलका कप्तान बेन्जेमाले खेलको ८७औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरे। उनले पेनाल्टीमार्फत गोल गर्दै खेलमा व्यक्तिगत तेस्रो तथा रियलको पाँचौं गोल गर्न सफल भएका थिए।

यस जितसँगै ४ खेलमा १० अंकसहित रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रियलसँग अंक बराबरी गर्नेमा साविक विजेता एथ्लेटिको मड्रिड र भ्यालेन्सिया पनि रहेका छन्।
