पुलिसलाई सोझो सेटमा हराउँदै आर्मी तेस्रो
नेपाल पुलिस क्लबमाथि सोझो सेटमा जित निकाल्दै त्रिभुवन आर्मी क्लबले वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कभर्डहलमा शनिबार बिहान भएको खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । एकपक्षीय बनेको खेलमा आर्मीले पहिलो सेट २५–१७ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेटमा २५–२० को सहज जित निकालेको आर्मीले तेस्रो सेटमा पनि २५–१७ कै सहज जित निकाल्यो । तेस्रो स्थान हासिल गरेसँगै आर्मीले १ लाख रुपैयाँ हात पारेको छ ।
उपाधिका लागि दिउँसो १ बजे नेपाल एपीएफ क्लब र होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुदैछ । एपीएफ वर्षको दोस्रो तथा डायमन्ड वर्षको पहिलो उपाधिको लागि कोर्टमा उत्रदैछ ।
