२९.२ प्रतिशतले लगाए दुवै मात्रा खोप
नेपालमा लक्षित जनसङ्ख्या मध्ये २९।२ प्रतिशतले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबारसम्म ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यस्तै, पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ३५।४ प्रतिशत पुगेको छ । ७६ लाख ९४ हजार ६०९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र ८३ हजार ३७३ जनाले खोप लगाएका छन् ।
शनिबार देशभर थप ८६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । ८ हजार २१९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६५९ तथा एन्टिजेन विधिबाट २०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ६४२ पुगेको छ । हाल सक्रिय सङ्क्रमितमध्ये १६ हजार ३७१ जना होम आइसोलेसन, १ हजार २७१ जना संस्थागत आइसोलेसन, ३५० जना आईसीयू र ११२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ६७ हजार ८१९ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९६।४ प्रतिशत रहेको छ । यही अवधिमा थप ९ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा कोभिड–१९ बाट ११ हजार १५७ जनाको मृत्यु भइसकेको छ ।