Skip to main content

हुम्लाको लिमीमा सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी

 हुम्लाको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीमा सुविधा सम्पन्न प्रसूति गृहसहितको स्वास्थ्य चौकी भवन निर्माण भएर सञ्चालनमा आएको छ। स्वास्थ्य चौकी सञ्चालनमा आएपछि लिमीका तीन गाउँका स्थानीयलाई उपचारमा सहज हुन भएको छ।

लिमीका स्थानीय पेमा तामाङले नयाँ र आधुनिक सुविधासहितको स्वास्थ्य चौकी सञ्चालनमा आउँदा लिमीका स्थानीयले सहज रुपमा स्वास्थ्य उपचार सेवा पाउने भएको बताए।

पहिलेको स्वास्थ्य चौकी पुरानो र जीर्ण भएकाले स्थानीयको मागअनुसार नयाँ प्रसूति गृहसहितको स्वास्थ्य चौकी भवन निर्माण गरिएको थियो। नयाँ स्वास्थ्य चौकीमा बिरामीको उपचारका साथै पहिलोपटक लिमीका गर्भवती महिलाहरुले प्रसूति सेवा पाउने भएका छन्। यसअघि परम्परागत विधिबाट सुत्केरी हुने गर्भवती महिला अब स्वास्थ्यकर्मीको सहयोगमा प्रसूति गृहमा सुत्केरी हुने भएका छन्। दुर्गममै सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण भई सञ्चालनमा आएपछि लिमीबासीमा खुसीयाली छाएको छ।

स्वास्थ्य चौकी निर्माणका लागि प्राविधिक सहयोग गर्दै आएको स्नोल्याण्ड एकीकृत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले सुविधा सम्पन्न स्वास्थ्य चौकी पाउने लिमीवासीको माग पूरा भएको बताए।

तीन कोठे स्वास्थ्य चौकी भवनमा एउटा कोठामा प्रसूति सेवा व्यवस्था गरिएको छ। स्वास्थ्य चौकीको शौचालयमा समेत तातोपानी आउने व्यवस्था भएकाले जाडोमा बिरामीलाई सरसफाइ गर्न सहज स्वास्थ्य चौकीको भनाइ छ।

स्वास्थ्य चौकी भवन निर्माणको कूल लागत ७१ लाखमध्ये छायाँ नेपालले ४५ लाख, गाउँपालिकाले २० लाख र स्थानीय बासिन्दाको जनश्रमदानको ६ लाख रहेको छ। स्वास्थ्य चौकी सञ्चालनमा आएपछि बिरामी हुँदा लामा बसाल्ने वा चीनको ताक्लाकोटमा गएर उपचार गर्नुपर्ने बाध्यताबाट लिमीवासीले मुक्ति पाएका छन्। स्वास्थ्य चौकीका लागि गाउँपालिकाले तीनजना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: