बासना थापा: दैलेख–१ मा कांग्रेसको कमब्याक
दैलेख । दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ मा १२ वर्षपछि नेपाली कांग्रेस कम्युनिष्टको गढमा प्रवेश गरेको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचन यता कांग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्न नपाएका कांग्रेस कार्यकर्ता र सुभेच्छुकहरुले यसपटको विषम्परिस्थतिमा बासना थापालाई विजयी बनाएका छन् ।
कुनै समय कांग्रेसको गण मानिएको यो क्षेत्रमा गठवन्धन संस्कृतिका कारण हलो र हसियाँ हथौडामा भोट हालेका कांग्रेस कार्यकर्ता र सुभेच्छुकहरुले यसपटक राजनीतिकरुपमा अनुभवी र पाका नेतालाई पाखा लगाउँदै थापालाई सांसद चुनेका छन् । बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा थापाले १२ हजार तीन सय ७२ मत प्राप्त जित निकालेकी छन् ।
थापाका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार सात सय ९६ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर पाँच सय ७६ छ । थापालाई चुनौती दिएका रास्वपाका नन्दकिशोर बस्नेतले आठ हजार एक सय ५१ मत प्राप्त गर्दा २०७० को संविधानसभा, २०७४ को प्रदेशसभा र २०७९ को प्रतिनिधिसभामा जित निकालेका नेकपाका अम्मरबहादुर थापाले चार हजार दुई सय ५६ मतका साथ लज्जास्पद हार व्यहोरेका छन् ।
रास्वपाको पक्षमा देशभर जनलहर चलेका बेला थापा उनै नेतृ हुन्, जो पुराना दलबाट एक मात्र प्रत्यक्षतर्फ महिला सांसद चुनिएकी छन् । हालसम्म अन्य पुराना दलबाट महिला उम्मेदवारको विजयी यात्रा तय भइसकेका छैन । २०४८, २०५१ र २०६४ सम्मका सबै निर्वाचमा यस क्षेत्रबाट कांग्रेसले अविजित यात्रा निकालेको थियो ।
२०६४ सम्मका तीन निर्वाचनमा कांग्रेसका गणेशबहादुर खड्काले जित निकालेका थिए । तर २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा खड्कालाई हराएर तत्कालिन नेकपा एमालेका अमरबहादुर थापा (अहिले नेकपाका उम्मेदवार) ले दैलेख–१ मा कम्युनिष्टको झण्डा फहराएका थिए । त्यसयता सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले गठवन्धन प्रवृत्तिका कारण उम्मेदवार उठाएको थिएन । यस क्षेत्रमा कांग्रेसीहरुले २०७४ मा हलो र २०७९ मा हँसिया हथौंडामा भोट हालेका थिए ।
थापाले २०७० मा कांग्रेसको विरासत भत्काउने थापालाई भारी मतान्तरले हराएर बदला लिएकी छन् । १२ वर्षपछि उम्मेवार उठाएको कांग्रेसकी बासनाको जनप्रतिनिधि बन्ने यो दोस्रो प्रयास हो । उनी २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दैलेखको नारायण नगरपालिका उपप्रमुखमा उम्मेदवार बनेकी थिइन । तर उनी एमालेकी सावित्रि मल्लसँग पराजित भइन ।
उक्त निर्वाचमा उनले चार हजार आठ सय ६६ मत प्राप्त गरेकी थिइन । १५ जेठ २०३७ मा काठमाडौं जन्मिएकी थापा २०५७ सालदेखि कांग्रेसन निकट विद्यार्थी संगठनबाट ्राजनीतिमा होमिएकी हुनन । २०६१ बाट दैलेखमा कांग्रेसको क्रियाशिल सदस्य बनेकी थापाले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी छन् । विभिन्न सेवामुलक सामाजिक सस्थामा जोडिएकी थापा होटल व्यवसायीसमेत हुन् ।
थापा कांग्रेसको १४औं महाधिवेशनमा शेखर समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार थिइन । यद्यपी, नतिजा भने उनको हातमा परेन । १३ महाधिवेशन प्रतिनिधि रहेकी थापा महासमिति सस्यसमेत बनेकी थिइन । उनी २३–२४ भदौको जेन–जी आन्दोलनपछि तत्कालिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनका पक्षमा खुलेकी थिइन । थापाले भारतको भीमराव विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । उनी नारायण नगरपालिकाकी स्थायी बासिन्दा हुन् ।
