बलि प्रथा: बलियाको शक्ति प्रदर्शन, निर्धामाथिको दमन!
प्रत्येक वर्ष नवरात्रि सुरु भएपछि बलि प्रथाको पक्ष र विपक्षमा बहस चर्कन्छ। पशुबलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीयहरूले बताउँछन् भने विपक्षमा रहनेले देवी माता भएकीले सन्तानको बलि नखाने तर्क गर्छन्।
नेपाली समाजमा बलि प्रथा सनातन कालदेखि चल्दै आएको विश्वास गरिन्छ। देवदेवीलाई बलि दिँदा देवदेवीहरू खुसी हुन्छन् र आफूले चिताइएका इच्छा, आकांक्षाहरू सबै पूरा हुन्छन् भन्ने मनोविश्वास मानिसमा रहेको पाइन्छ। पशु बलि दिए देवदेवीको आशीर्वाद मार्फत पुत्र प्राप्त हुने जनविश्वासले पनि पशु बलि प्रथा समाजमा विद्यमान रहेको पाइन्छ।
देवाली वा कुल पूजामा पनि पशु बलि अनिवार्य रूपमा दिइन्छ। दशैंमा सबै जसो समुदायमा पशु बलि दिनु परम्परागत अनिवार्यता जस्तो देखिन्छ। हिन्दू संस्कारमा कुभिण्डो, घिरौंला, खिरको लड्डु आदि अर्पण गर्नुलाई पनि बलिको रूपमा स्वीकार गरेको पाइन्छ।
नेपालमा हरेक मठ-मन्दिरमा देवी-देवताका भिन्दाभिन्दै मूर्ति राखेर पूजाआजा गरिन्छ र मन्दिरैपिच्छे पूजा गर्ने विधि पनि फरक छ। धार्मिक आस्थाका विभिन्न स्थानहरूमा दशैंको समयमा हजारौं बोका, पाठापाठी, हाँस, कुखुरा एवं राँगाको बलि दिइन्छ।
दशैंलाई धार्मिक रूपमा मात्र नभएर परम्परागत संस्कारका रूपमा पनि मनाइन्छ। यो पर्व विभिन्न धर्ममा आस्था राख्ने व्यक्तिहरूले पनि मनाउँदै आएका छन्। धर्मका नाममा भगवानलाई खुसी पार्न भन्दै विभिन्न देवीका मन्दिर, शक्तिपीठहरूमा र शक्तिस्वरूपा दुर्गा भवानीको पूजा-आराधना गरी बलि दिने परम्परा छ। जो अन्धविश्वास मात्र हो। यो कुनै धर्मप्रेरित कार्य होइन।
मानिस आफू एउटा प्राणी भएर आफूजस्तै अर्को प्राणीको हत्या गर्नु भनेको निकै ठूलो पाप हो र यो अमानवीय व्यवहार पनि हो। अझ देवी-देवताका नाममा हुने यस्तो हिंसा भनेको महापाप हो। आजको समयसम्म आइपुग्दा नेपालीहरूले पशुको मासु खान कुनै चाडपर्व मात्र पर्खिरहनु पर्दैन। उनीहरूलाई सानातिना बहाना मात्र भए पुग्छ।
कुनै पनि मेसिनरी सामानको पूजा गर्दा होस् वा सवारी साधनहरूको पूजा गर्दा पशुपंक्षीको बलि दिने चलन व्यापक हुँदै गएको छ। यो कुनै धार्मिक नीति-नियम नभएर मानिस स्वयंले मासु खाने इच्छा पूर्ति गर्न बनाएको नियम हो। यस प्रकारको पशु बलिलाई पूर्ण रूपले एकै पटक समाप्त गर्न नसकिने हुनाले प्रत्येक व्यक्ति, समाज तथा राज्यबाट सत्प्रयास प्रारम्भ हुनुपर्छ भन्ने तर्क समाजशास्त्रीहरुले गरिरहेका छन्।
प्रकृतिको नियमअनुसार हरेक प्राणीलाई बाँच्ने अधिकार हुन्छ र उसले आफू सुरक्षित रहन पनि आफ्ना प्रतिद्वन्द्वीसँग संर्घष गर्नुपर्छ। यसरी नै प्रकृतिको इकोसिस्टम चलिरहेको हुन्छ। यसमा एकले अर्कालाई मारेर आफ्नो आहारा पूरा गरिन्छ। यो एउटा प्राकृतिक नियम पनि हो। मानिस पनि यही इकोस्टिमभित्र बाँच्ने प्राणी हो तर उसमा यो नियम पूर्ण रूपमा लागू हुँदैन।
मानिस प्राणीहरूमा सर्वश्रेष्ठ प्राणी हो। उसमा हरेक कुरा अनुभूति गर्ने क्षमता छ। त्यसैले मानिस कसैको हिंसा नगरी अबोध प्राणीको मासु नखाए पनि बाँच्न सक्ने एक मात्र त्यस्तो प्राणी हो, जो प्राणीहरूमा सर्वश्रेष्ठ मानिन्छ । तसर्थ, मानिसले बलि प्रथालाई निरन्तरता दिइरहनु उपयुक्त हुँदैन किनभने यस्तो किसिमको प्रथाले मानिसलाई हिंसात्मक बन्न उत्प्रेरित गरिरहेको छ।
अहिलेको २१ औं शताब्दीमा पनि बलि प्रथा जस्तो बर्बर र अमानवीय कूसंस्कृति हाम्रो समाजमा विद्यमान रहनु राम्रो होइन। समाजमा जरो गाडेर बसेको बलि प्रथा हटाउने कार्य एकै पटक गर्न सकिँदैन, तर बिस्तारै-बिस्तारै हटाउने अभियानमा भने अवश्य लाग्न सकिन्छ। कुनै पशुको हत्या गरेर धर्म प्राप्त हुन्छ भन्ने मान्यता एउटा कूप्रथा र अन्धविश्वास मात्र हो।
सत्य, अहिंसा, न्याय, कल्याण आदिजस्ता विशेषता बहन गरेको ईश्वरीय तत्व र त्यसैका आधारमा निर्मित धार्मिक मूल्य-मान्यताको अपव्याख्या गरिँदै जानुले आज मानिसमा नास्तिकताको विकास हुनुका साथै ऊ मानवीय मूल्य-मान्यताबाट समेत विमुख बन्दै गइरहेको देखिन्छ। शक्ति पूजाका नाममा धार्मिक स्थलमा भइरहेको बलि प्रथाले बलियाको शक्ति प्रदर्शन र निर्धामाथिको दमनको द्योतन गरिरहेको छ।
मानव समाज आफ्ना धार्मिक-सांस्कृतिक मूल्य-मान्यताबाट निर्देशित हुने हुँदा हिंसाको न्यूनीकरणका लागि धार्मिक-सांस्कृतिक अभ्यासलाई परिमार्जन गरिनु आवश्यक छ। यसका लागि पशु बलि अन्त्य र एक अभियानको रूपमा सांस्कृतिक पुनर्जागरण कार्यक्रमको आवश्यकता देखिन्छ।
