दैलेखलाई आर्थिक हब बनाउने लक्ष्यसहित बासना थापाको प्रतिज्ञापत्र सार्वजनिक
सुर्खेत । दैलेखमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार बासना थापाको सचिवालयले विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । समग्र विकासलाई केन्द्रमा राख्दै सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा दैलेखलाई आर्थिक तथा व्यावसायिक हबका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरिएको छ ।
उम्मेदवार थापाले युवा रोजगारी, सडक पूर्वाधार, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि तथा पेट्रोलियम उत्खननलाई प्राथमिकतामा राख्दै पाँच वर्षे कार्ययोजना अघि सारेकी छन् । युवालाई विदेश पलायनबाट रोक्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन विशेष प्याकेज तथा सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।
भौतिक पूर्वाधारतर्फ रुपिडिया–सुर्खेत–दैलेख–महाबु–नाग्चे नाकासम्म सडक निर्माण गरी प्रमुख व्यापारिक मार्गका रूपमा विकास गर्ने योजना अघि सारिएको छ । साथै सुर्खेत–दैलेख द्रुतमार्ग (सुरुङमार्ग) को सम्भाव्यता अध्ययन गरी राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने, सुर्खेत–दैलेख सडकलाई दुई लेनमा विस्तार गर्ने तथा विभिन्न स्थानीय सडक खण्डहरूको स्तरोन्नति र कालोपत्रे गर्ने योजना रहेको छ ।
६ वटै पालिकाका वडा मुकामसम्म सडक सञ्जाल विस्तार गरी ग्रामीण सडकहरू बाह्रै महिना सञ्चालनयोग्य बनाइने उल्लेख गरिएको छ । ऊर्जा क्षेत्रतर्फ बाँकी रहेका टोल–बस्तीमा आगामी पाँच वर्षभित्र विद्युत् विस्तार सम्पन्न गर्ने तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण र सञ्चालनका लागि पहल गरिने जनाइएको छ ।
पर्यटन प्रवद्र्धनका लागि दैलेखका ऐतिहासिक तथा धार्मिक स्थललाई समेटेर धार्मिक–पर्यटन सर्किट निर्माण गरिने योजना प्रस्तुत गरिएको छ । यसबाट स्थानीय आयआर्जन वृद्धि हुने विश्वास व्यक्त गरिएको छ ।
पेट्रोलियम पदार्थको अन्वेषण र व्यावसायिक उत्पादनलाई तीव्रता दिन संघीय सरकारसँग समन्वय गरी आवश्यक पहल गरिने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ । उक्त परियोजना सफल भए दैलेख मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने दाबी गरिएको छ ।
प्राकृतिक स्रोत साधनको उपयोगतर्फ स्लेट खानी, जडीबुटी उत्पादन तथा प्रशोधन र घरेलु उद्योग स्थापना तथा प्रवद्र्धनमा जोड दिइनेछ । शिक्षा र स्वास्थ्य क्षेत्र सुधार अर्न्तगत जिल्ला अस्पताललाई १०० शैयाको आधुनिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने तथा पालिकास्तरीय अस्पताललाई २५ शैयासम्म विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ । साथै प्राविधिक शिक्षालय स्थापना, सहुलियत ऋण तथा स्वरोजगार कार्यक्रम मार्फत युवालाई उद्यमशीलतामा प्रोत्साहन गरिने जनाइएको छ ।
कृषि आधुनिकीकरण र “अर्गानिक दैलेख” अभियान मार्फत उत्पादन वृद्धि तथा बजार व्यवस्थापन सुदृढ गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ ।
समग्रमा पूर्वाधार, उत्पादन र सेवा क्षेत्रलाई सुदृढ बनाउँदै दैलेखको दीर्घकालीन आर्थिक समृद्धिको आधार तयार गर्ने लक्ष्य सहित उम्मेदवार थापाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेकी हुन् ।
