Skip to main content

हलमा ‘चपली हाइट ३’, दर्शक तान्ने अपेक्षा

कोरोना महामारीका कारण दुई वर्ष बन्द भएर यसपालीको दशैंबाट खुलेका हलहरुमा विदेशी फिल्मले एकछत्र राज गरिरहेका छन् । ‘सूर्यवंशी’, ‘स्पाइडर म्यान स् नो वे होम’ र ‘पुष्पा’ ले हलमा आउन दर्शक डराउँदैनन् भन्ने प्रमाणित गर्‍यो । उता, नेपाली फिल्म ‘कठपुतली’ ले पनि आशाको किरण छर्‍यो । यसबीच, शुक्रवारबाट नेपाली फिल्म ‘चपली हाइट ३’ ले प्रदर्शन थालनी गरेको छ ।

कोरोना महामारीको तेस्रो लहरका कारण भारतका ठूला फिल्मको रिलिज रोकिँदा ‘चपली हाइट ३’ ले देशभरका मल्टीप्लेक्सहरुमा पर्याप्य शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रवार २६ शो दिएकोमा शनिवारका लागि ७ शो बढाएर ३३ शो पुर्‍याएको छ । फिल्मलाई सिंगल थिएटरहरु पनि ठूलो संख्यामा मिलेको निर्माण टिमले जनाएको छ ।

‘चपली हाइट’ आफैंमा ब्रान्ड नाम हो । यो फिल्मले समातेको सस्पेन्स(थ्रिलर जनरा र ‘ग्ल्यामरस कन्टेन्ट’ हलसम्म दर्शक तान्ने अस्त्र हुन् । पहिलो श्रृंखलामा नायिका विनिता बरालले दिएको बोल्ड सिनको निकै चर्चा र विवाद भएको थियो । त्यस्तै, दोस्रो पार्टमा नायिका परमिता आरएल राणा ग्ल्यामरस रोलमा प्रस्तुत थिइन् । ‘पार्ट ३’ मा भने नायिका सुपुष्पा भट्टले यो विरासत धानेकी छन् ।

‘चपली हाइट’ का आफ्नै दर्शक भएकाले बक्सअफिसमा सुखद नतिजा ल्याउने धेरैको अपेक्षा छ । अभिनेत्री स्वस्तिमा खड्काको क्रेजको फाइदा पनि फिल्मले उठाउन सक्ने विश्लेषण कतिपयको छ । निकेश खड्का निर्देशित तथा अर्जुन कुमार निर्मित फिल्ममा आमिर गौतम, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा लगायतको पनि अभिनय छ ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: