वीरेन्द्रनगरमा एकै परिवारका चार जनाको मृत्यु
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदीमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । जाजरकाेटकाे शिवालय गाउँपालिका–४ स्थायी ठेगाना भै वीरेन्द्रनगरमा बस्दै आएका कल्पा बुढा (३५)सहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मृत्यु हुनेमा कल्पा बुढाका छोरा निरज बुढा (९), चिरञ्जीवि बुढा (८) र कल्पाका दाई मान बुढाका छोरा सोमराज बुढा (५)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
‘ढोका बन्द गरेर तसलामा कोइला बालेको अवस्थामा मृत भेटिए’ डिएसपी घर्तीले भने, ‘आगो ताप्ने क्रममा निसास्सिएर मृत्यु भएको हुनसक्ने घटनाको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
उनिहरू शनिबार साँझ ६ बजे मृत अवस्थामा भेटिएका हुन् ।
साथै, मृतक कल्पाका श्रीमान जाजरकोटबाट आउँदै गरेकाले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
