१२ खलाडीलाई कोरोना भएपछि आयोजक भारत एएफसी महिला फुटबलबाट बाहिरियो
आफ्ना १२ खेलाडीलाई कोभिड १९ को संक्रमण भएपछि आयोजक भारत एएफसी महिला एसिया कप फुटबलबाट बाहिरिएको छ।
भारतले आइतबार समूह चरणको खेलमा चाईनिज ताइपेविरुद्ध खेल्ने तालिका रहेको थियो । तर, कोभिड पीडित भारतले १३ खेलाडी जुटाउन नसकेपछि खेल आयोजक प्रतियोगिताबाटै बाहिरिएको हो।
एएफसीको नियम अनुसार कोभिडको महामारीको समयमा कम्तिमा १३ खेलाडी टिममा उपलब्ध हुनुपर्छ । तर, भारतले आवश्यक खेलाडी उपलब्ध गराउन सकेको थिएन।
चीन, चाइनिज ताइपेई, इरानसँगै आयोजक भारत समूह ए मा थियो। यसअघि भारतले इरानलाई गोलरहित बराबरीमा रोकेको थियो।
प्रतियोगिता अन्तर्गत बाँकी खेलहरु भने पूर्व निर्धारित तालिका अनुसार नै हुने एएफसीले जनाएको छ।
