सोसेकले ठाटीकाँधका विद्यालयलाई दियो स्वास्थ्य सामग्री
दैलेख । जिल्लाको ठाटीकाँध गाउँपालिकाका विद्यालय र बाल विकास केन्द्रलाई स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ । गाउँपालिकामा रहेका ३९ वटा विद्यालय र ती वटा बाल विकास केन्द्रमा अध्ययनरत सात हजार आठ सय २८ जना बालवालिकाहरु तथा शिक्षकका लागि स्वास्थ्य माक्स र सेनिटाइजर वितरण गरिएको छ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले उक्त सामग्री उपलब्ध गराएको हो । ठाटीकाँध गाउँपालिकामा एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा संस्थामार्फत गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग कार्यक्रम (सहकार्य) सञ्चालित छ । परियोजनाले ३२ हजार माक्स तथा ६ सय ५० बोटल सेनिटाइजर वितरण गरिएकोे हो ।
संस्थाका अध्यक्ष हीरासिंह थापा, ठाटीकाँध गाउँपालिका–१ का वडाध्यक्ष नर्तमबहादुर बुढा, ठाटीकाँध गाउँपालिकाका कार्यक्रम संयोजक कृपाराम थापा, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नेत्र बहादुर थापा, प्रहरी चौकीका इन्चार्ज थमप्रसाद ढकाल लगायत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी समेतको उपस्थितिमा सामग्री वितरण गरिएको हो ।

संस्थाका उपाध्यक्ष मञ्जु खड्काले स्वागत गरेको मास्क तथा सेनीटाइजर वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष नर्तमबहादुर बुढाले सबै विद्यालयलाई विद्यालय सञ्चालन गर्नु पूर्व स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गर्नु स्वागत योग्य रहेको बताए । उनले सोसेक नेपालको सुशासन नीति अनुसारको काम गर्ने शैली समेत उत्कृष्ठ रहेको बताए ।
सोसेक नेपालका अध्यक्ष हीरासिंह थापाले यस अघि पहिरो र दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय र समुदाय स्तरमा स्वास्थ्य तथा सरसफाईका सामग्री वितरण गरेको बताउँदै अहिले पनि स्वास्थ्य सामग्री सहयोग गर्ने कार्यलाई निरन्तरता दिएको बताए । उनले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालन हुने कार्यक्रम तथा क्रियाकलापबो गुनासो तथा सुझाब भएमा टोल फ्रि नम्बर १६६०८९४२००१ मा सम्पर्क गर्न आग्रह गरे जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार, राहत तथा पुर्नस्थापना सहयोगका लागि बाल हेल्पलाइन १०९८ मा सम्र्पक गर्न तथा निःशुल्क कानुनी सल्लाह लिन समेत अध्यक्ष थापाले आग्रह गरे ।
ठाटीकाँध गाउपालिकाका कार्यक्रम संयोजक कृपा थापाले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले कोरोना महामारीमा लामो समय विद्यालय बन्द पश्चात पुनः सञ्चालन हुँदै गर्दा सुरक्षाका उपाय अन्र्तरगत माक्स तथा सेनिटाईजर वितरण गर्नु प्रसंशनीय रहेको बताए ।

यस्तै शिक्षा तथा युवा शाखा प्रमुख नेत्र थापाले विद्यालयमा बालबालिकाका लागि उपलब्ध गराईएको मास्क तथा सेनीटाइजर अनिवार्य रुपमा बालबालिकालाई वितरण गरी प्रयोग गर्न लगाउनुपर्नेमा जोड दिए । उनले सरकारको निर्देशन अनुसार सुरक्षा मापदण्ड अपनाई विद्यालय सञ्चालन गर्न आग्रह गरे ।
कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ गते अर्थात भोली आइतवारदेखि सञ्चालनमा आउँदैछ । जनस्वास्थ्यका मापदण्ड पालना गर्दै देशभरका शैक्षिक संस्थामा भौतिक उपस्थितसहित पठनपाठन हुने भएको हो ।
