बार एसोसिएसनले चोलेन्द्रविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने
नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन् ।
प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले शपथ नलिएसम्म आफूहरूको आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने बताएका हुन् ।
आइतबार नेपाल बार एसोसिएसन परिसरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बार अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा व्यापक छानबिन हुनुपर्ने माग गरे । उनले न्यायालयमा सुधारका थुप्रै कामहरू भएको र त्यो नभएसम्म आफूहरूले आन्दोलन नरोकिने पनि प्रस्ट पारे ।
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष शाक्यले जबरा पदच्यूत नभएसम्म आफूहरूको आन्दोलन जारी रहने बताए । उनले जबर निलम्बित प्रधानन्यायाधीश भएको र उनले संविधान अनुसार सर्वोच्चको गेटमा समेत प्रवेश गर्ने अनुमति नपाउने दाबीसमेत गरे ।
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षद्वय हरिहर दाहाल र शम्भु थापाले न्यायपालिकाको सुधार नभएसम्म आन्दोलन जारी राख्न बारको नेतृत्वलाई आग्रह गरेका थिए । वरिष्ठ अधिवक्तासमेत रहेका दाहालले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउन पनि कानुन व्यवसायीहरूको छाता संगठन बारको आन्दोलनले निरन्तरता पाउनुपर्ने बताए ।
अर्का वरिष्ठ अभिवक्ता शम्भु थापाले न्यायपालिकामा देखिएको भ्रष्टाचार अन्त्य गर्न नेपाल बारले सुरु गरेको आन्दोलनलाई जारी राख्नुपर्ने बताए । उनले कानुनको शासनलाई अघि बढाएर गणतन्त्रलाई थाम्न सक्ने न्यायाधीश नियुक्तिका लागि पनि नेपाल बारले निर्णायक आन्दोलन गर्नुपर्ने बताए ।
वरिष्ठ अधिवक्ता थापाले आचरणयुक्त न्यायाधीश नियुक्तिका लागि सबैले पहल गर्नुपर्ने पनि बताए ।
