संसदमा आज पनि एमसीसी टेबल नहुने
अमेरिकी सहायता परियोजना एमसीसी आज पनि संसदमा टेबल नहुने भएको छ ।
शुक्रबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।
बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीबारे थप छलफल गर्न आवश्यक भएको र आफूहरूको स्थायी कमिटीको बैठक रहेकाले केही दिन पर्खिन प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालको आग्रहमा प्रधानमन्त्री देउवा दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री देउवा आज बस्ने संसद बैठकमा एमसीसी टेबल नगर्न सहमत भएको बताए ।
‘प्रधानमन्त्रीजीले आजै एमसिसी संसदमा पेस गर्ने प्रस्ताव गर्नुभएको थियो । तर, हामीले भोलि हाम्रो पार्टीको स्थायी कमिटी बैठक छ । पर्सि फेरि छलफल गरौं भनेपछि उहाँ संसदमा पेस नगर्न सहमत हुनुभयो,ु नेपालले भने ।
सत्तारुढ गठबन्धनको बैठक आइतबार बिहान १० बजे फेरि बस्ने गरी सकिएको उनले बताए ।
