किसान ठग्दै सरकार अनुदानको भैसीमा अनियमित्तता
दैलेख । दैलेख आठविस नगरपालिका – ४ कि देवीसरा माझी मुर्रा नगरपालिकाबाट मुर्रा जातको भैसी पाउने भएपछि ६० हजारमा घरको रैथान जातको बेचिन । मुर्रा जातको भैसीले दिनको तीनपटक १० लिटर दुध दिने भैसी नगरपालिकाबाट अनुदान पाउने आशले घरमा पालेको भैसी बेचिकी हुन् ।
नगरपालिकाले भने अनुसार माझीले ३५ हजार रुपैयाँ जम्मा गरिन । चिट्ठा हालेर कृषक छनौट गरियो । भैसीको विमा,भकारो सुधार घाँस काट्ने मेशिनका लागि पालिकालाई कृषकबाट रकम उठाएको थियो । किसानबाट २८ लाख ३५ हजार रकम उठेको थियो ।
एक पालिका एक पकेट क्षेत्र अनुसार सो पालिकामा भैसी वितरण अनुदान कार्यक्रम गर्ने योजना बनाएको थियो । भैसी वितरण अनुदानको खरिदका लागि टेण्डर मार्फत विजय पशुपालन फर्म खजुरा २ ले भैसी उपलब्ध गराउने जिम्मा पाएको थियो । सो फर्मले पालिकालाई ८१ वटा भैसी ७ वटा राँगा उपलब्ध गराएको थियो । १ करोड २८ लाख ३५ हजारमा भैसी वितरण अनुदान गरिएको थियो ।
तर किसानले पालिकाले भने अनुसार मुर्रा जातको भैसी पाएनन् । स्थानीय जातको भन्दा कम दुध दिने भैसी पाएपछि आजभोली आफुहरु भैसी अनुदानमा स्थानीय सरकारबाट ठगिएको बताउँछन् । हामीलाई पालिकाले जुन जातको भैसी ल्याउने आश्वासन दिएको थियो । त्यो ल्याएन । फरक जातको कम दुध दिने भैसी दियो । यो भन्दा त हाम्रो गाउँको भैसीले बढी दुध दिन्थ्यो,अर्का कृषक धना माझीले दुखेसो पोखिन । सरकारले पनि जनता ठग्ने काम गरेको छ ।
आम नागरिकलाई सेवा सुविधा उपलब्ध गराउने र आर्यआर्जनमा बृद्धि गरेर जनतालाई आत्मनिर्भर बनाउने दायित्व स्थानीय सरकारको हो । तर दैलेख आठविस नगरपालिका किसान सरकारबाटै ठगिएका छन् । भैसी अनुदान वितरणमा आफुहरु ठगिएको अर्का किसान भक्तबहादुर माझीले बताईन ।
आर्थिक बर्ष ०७७।०७८ मा एक पालिका एक पकेट कार्यक्रम अन्र्तगत आठविस नगरपालिका पालिकाको ७० लाख प्रदेशको ३० लाख र कृषकको २८ लाख ३५ हजारमा भैसी खरिद गरिएको थियो ।
दुधबाट पैसा कमाउने आशा गरेका किसान जब भैसीले पाडो÷पाडी जन्मायो । सोचे अनुसार भैसीले दुध नदिएपछि आफु ठगिएको थाहा पाए । मुर्रा जातको भैसी भनिएपनि फरक जातको रहेको स्थानीयबासी लक्ष्मी माझीले बताईन । लैनो भैसी समेतले अहिले विहाना र बेलुका गरेर चार माना मात्र दुध दिने गरेको छ । हामी भने अनुसार घाँस पात गरेकै छौं । स्थानीय सरकारले हाम्रो क्षतिपुर्ति दिनुपर्ने किसानको माग छ ।
भैसीले सोचे अनुसार दुध नदिदा कतिपय किसानले भैसी बेचिसकेका छन् भने कतिपय भैसी थारो निस्किएको छ । मरेपछि भैसीको एकलाख रकम बिमा पाउने भनिएपनि विमा गरिएको छैन ।
भैसीले आशा गरेको भन्दा दुध कम दिएपछि केही कृषकले भैसी बेचिसकेका छन ।
अचम्मको कुरा त के छ भने दुध उत्पादन गरेर आत्मनिर्भर बनाउने योजना लिएको पालिकाले चिट्ठा हालेर भैसी वितरण गरेको थियो । थारो रहेका ५ वटा भैसी नगरपालिकाले सो फर्मलाई फिर्ता समेत गरिसकेको छ । तर साहुँ महाजनबाट ऋण लिएर पालिकालाई तिरेको भैसीको ब्याज कसरी तिर्नेमा कृषक चिन्तित छन् ।
यो कुराले आठविस नगरपालिकाको नारालाई कम्ति गिज्याएको छैन । आठविस नगरको समुन्तिका आधार,शिक्षा,स्वास्थ्य कृषि पर्यटन र पुर्वाधार यो नारा कागजमा मात्र हो व्यवहार होइनकी भन्ने यो घटनाले प्रस्ट पारिदिएको छ । भैसी वितरण पछि सार्वजनिक सुनुवाई अनुगमन गर्न पालिकाका कर्मचारी कोही पनि किसानको घरमा पुगेका छैनन् ।
भैसी वितरणमा बदमासी भएको आठविस नगरपालिका नगरप्रमुख खडगराज उपाध्यायले स्वीकार गरे । हामी छानविन समिति बनाएर कारवाही गछौं उनले भने ।
भैसी वितरण अनुदानमा सरकारबाट किसान ठगिएको यो एउटा प्रतिनिधी घटना हो । यस्ता घटना दैलेख जिल्लामा थुप्रै छन् । किसानका नाममा आएको भैसी वितरणको अनुदानमा कर्मचारी,शिक्षक,राजनिति दलका प्रतिनिधीको हालीमुहाली छ । असली किसानमा अनुदान पुगेको छैन । किसानलाई अनुदानमा जानकारी नभई पहुँचवालाको पोल्टामा अनुदान दिएर स्थानीय सरकारले संघियताको उपहास गरेका छन् ।
