छोराकै आशमा १२ छोरि जन्माईन दुधाले
दैलेख । छोरा हुन वा छोरी दुबै बराबरी भन्ने सरकारी नारा छ । तर दैलेखको पश्चिमका पालिकाले यो नारालाई कार्यान्वयन गरेका छैनन् । सरकारी नारालाई कार्यान्वयन गराउन स्थानीय सरकार मौन छ । गाउँका नवजात शिशु जन्मिदै विभेदका शिकार बनेका छन् ।
विभेदकारी संस्कार पुरुषलाई हौसला दिएपनि महिलामा भने निराशा छाउने गरेको छ । यो संस्कारले महिला केही होइन,पुरुष मात्र मान्छे हुन भन्ने नराम्रो छापले महिलालाई मानसिक यातना दिएको छ । छोरा सरह छोरीले अंश पाउने कानुनमा उल्लेख भएपनि गाउँघरमा मान्यता पाएको छैन । काजकिरिया गर्न,अंश खानका लागि छोरा नै जन्माउने संस्कारले अधिकाँश महिलाको ज्यान जोखिममा परेको छ । कतिपय महिला छोरा नजन्माएकै कारण घरेलुहिंसाका शिकार बनेका छन् ।
त्यसैकी एक प्रतिनिधी पात्र ठाटीकाँध गाउँपालिका –२ टम्टालाकी ५८ बर्षिया दुधा नेपाली । छोरा पाउने आशले १२ वटी छोरी जन्माईन । १२ वटी छोरी जन्माए पनि घरमा भोज भतेर न्वारान,छैठी केही पनि भएन । १८ महिना अघि १३ औं सन्तानमा छोरा जमाउँदा भने भोज भतेर गरियो । कोभिड –१९ महामारीमा पनि ठाटीकाँध बजारदेखी बाजागाजा बजाएर घर भित्राए । दाजुभाई दिदी बहिनी छरछिमेकीले भोजभतेर पनि खाए,दुधाका श्रीमान आईते नेपालीले बताए ।
अंश खाने काजकिरिया गर्ने, छोरा नै हुनुपर्छ भन्ने गलत मान्यताले गर्दा दुधा नेपाली एक दर्जन छोरीको जन्माउनु प¥यो । आर्थिक अवस्था कमजोर भएकी दुधा धेरै बच्चा जन्माएका कारण विरामी छन् । अनुहार चाउरिएको छ,चम्किलो छैन । खानाको अभाव उस्तै छ । तर पनि दुधाले जहान परिवारलाई पाल्न साहुँमहाजनको काम गर्नुपर्ने बाध्यता छ । सिलाई कटाईबाट १५ परिवार पाल्दै आएका छन् नेपाली परिवारले ।
उनी मात्र होइनन् । ठाटीकाँध गाउँपालिका १ की लक्ष्मी कुमारी बुढा रावतले पनि दुई बर्ष अघि छोरा प्राथमिक स्वास्थ्य केन्द्रमा छोरा जन्माईन । छोरा जन्माएको खबर गाउँभरी फैलियो । जब छोरा जन्मिएको खबर गाउँमा पुग्यो तब उनका छिमेकी र आफन्त बाजागाजा सहित स्वास्थ्य केन्द्रमै पुगे । छोरा जन्मिएको खुसीयालीमा लक्ष्मीका श्रीमान, सासुससुरा र गाउँलेले लक्ष्मी र नवजात शिशुलाई बाजागाजा सहित गाउँ घुमाए ।
लक्ष्मीको घरमा गाउँलेको भीडभाड सुरु भयो । घरमा ठुलै भोज भतेर र रमाईलो चल्यो । गाउँमा छोरा जन्मिए सबैले यसरीनै बाजागाजा सहित गाउँ डुलाउँछन्, भोज भतेर गर्छन् । तर, छोरी जन्मँदा यस्ता कुनै पनि संस्कार गरिँदैन् । छोरी जन्मिए स्वास्थ्य चौकी होस् या घर ! सुनसान हुन्छ ।
स्वास्थ्य केन्द्रमा सातामा कम्तीमा एक शिशुको जन्म हुन्छ । कुनै दिन शिशु जन्मेको सबै गाउँलेलाई थाहा हुन्छ, भने कुनै दिन थाहानै हुँदैन् । कारण, छोरा जन्मिए बाजागाजा सहित गाउँ डुलाईन्छ । तर, छोरी जन्मिए गाउँनै सुनसान । ठाटीकाँध मात्र होइन जिल्लाको अधिकाँश ग्रामिण क्षेत्रमा अहिले पनि छोरी भएकै कारण विभेद गर्ने कानुन विपरित विभेदकारी प्रथा कायमै छ ।
गाउँमा अझै पनि छोरीमाथी गरिने विभेद र हिंसा न्यूनिकरण हुन सकेको छैन् । विभेदकै कारण यहाँका छोरीहरुले सुविधा, अबसर, सहभागिता र पोषणबाट बञ्चित हुनुपरेको छ । छोरी जन्माएकै कारण हिंसा भोग्ने महिलाहरुको संख्या अत्याधिक छ ।
‘छोरा नभए मर्ने बेला कसले पाल्छ ? भन्ने सोचाई ग्रामिण क्षेत्रमा छ । सोचाईले महिला बच्चा जन्माउने मेसिन जस्तै बनेका छन् ।’ यस्ता कुरिति हटाउन स्थानीय सरकार जनचेतनामुलक अभियान छोरीलाई प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने स्थानीयबासी नर्तमबहादुर बोगटीले बताए ।
जिल्लामा ९६ प्रतिशत साक्षरता रहेको दैलेखमा प्रजनन् दर ३ प्रतिशत छ । विभेद न्यूनिकरणका लागि सरकारी र गैरसरकारी निकायबाट थुप्रै अभियान सञ्चालन भएपनि परम्परागत कुप्रथा उस्तै छ । जन्मदै विभेद सुरु हुने छोरीहरुको मानव अधिकारको प्रत्याभुती भएको छैन् । विभेद विरुद्धका कानुनी व्यवस्था कार्यान्वयनमा तीनै तहका सरकार गम्भिर बन्नुपर्छ ।
