कर्णाली राजमार्गमा मालवाहक ट्रक सडकमा अड्कियो
जुम्ला । कर्णाली राजमार्गमा मालवाहक ट्रक दुर्घटनाबाट जोगिएको छ ।
कर्णाली राजमार्गमा रहेको कालीकोट खण्डको मोडमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्ला पठाएको बालबालिकालाई दिइने पौष्टिक आहार बोकेको ट्रक सडकबाट ५० प्रतिशत भाग तल गएर अड्किएको हो ।
आइतवार दिउँसो नेपालगञ्जबाट आउँदै गरेको ना ४ ख २८६० को ट्रक मोडमा ठाउँ नपुग्दा सडकबाट तल गएको तर खस्नबाट जोगिएको छ । कर्णाली राजमार्गमा रहेको हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीले ट्रकको आधा भाग तल खसिसकेको अवस्थामा स्टिलवार र वालमा अघिल्लो भाग अडकिएकाले दुर्घटनाबाट जोगिएको बताए ।
कैलाली घर भएका हरिस धामीले ट्रक चलाउनु भएको थियो। दुर्घटनाको खबर पाउनेबित्तिकै प्रहरी त्यस क्षेत्रमा पुगेको थियो । प्रहरीले चालक धामीलाई सकुशल उद्धार गरेको छ । प्रहरीले साङ्लो बाँधेर ट्रकमा लोड गरिएको पौष्टिक आहार सुरक्षित निकालेको छ ।
यस क्षेत्रमा मोड साँघुरो भएका कारण पहिले पनि दुर्घटना भएको थियो । कर्णाली राजमार्गमा साँघुरो सडक भएका कारण दुर्घटनाको डर भएको साथै गाडी पास गर्न कठिन हुने गरेको छ ।
