कर्णाली उत्सव आजदेखि, यसपाली सम्वृद्धिको बहस हुने
सुर्खेत । कर्णाली उत्सव ‘कुडा कर्नालीका’ तेस्रो संस्करण आज (बिहिबार)देखि सूरु हुँदै छ । विचारको बहस गर्ने कर्णाली उत्सवमा यस पटक भने ‘सम्वृद्धि’को बहस हुने भएको छ ।
कर्णालीको पहिचान र सम्भावनालाई उजागर गरी यहा‘को ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई राष्ट्रिय रूपमा परिचित गराउन उत्सव आयोजना गरिएकोमा यसपटक कर्णाली सम्वृद्धिको बहस हुने उत्सवका निर्देशक दिनेश गौतमले जानकारी दिए ।
उत्सव सम्पन्न भएपश्चात यसबाट उठेका बहसलाई नीति निर्माणको तहसम्म कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारमा समेत पहल गरिने निर्देशक गौतमले बताए ।
यसपटक सञ्चालन हुने उत्सवमा फरक क्षमता भएका व्यक्तिहरुका लागि दोभाषेको समेत प्रयोग गरिने छ । गौतमका अनुसार उत्सवका विभिन्न सत्रमा समावेश हुने ५४ प्रतिशत वक्ताहरु कर्णाली प्रदेश स्थायी ठेगाना भएका छन् भने बाँकी प्रदेश बाहिरबाट आउनेछन् ।
यस्तै वक्ताहरु छनोट गर्ने क्रममा समावेशीतालाई ख्याल गरिएको आयोजकको दावी छ ।
कर्णाली सम्वृद्धिका बहस अन्तरगत झण्डै १२ सत्रहरुबाट विविध पक्षमा बहस हुनेछ । जसअनुसार उत्सवमा प्रज्ञा प्रतिष्ठानका प्रा. दिनेशराज पन्तले खस भाषाको लहरो विषयक विद्धत शीर्षकमा प्रवचन दिने छन् भने मन्तब्य राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी किरणकुमार श्रेष्ठले दिने भएका छन ।
विकासकालागी बिचार विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिचार राख्ने छन् । उत्सवको उत्साह, पौकलो, कर्णाली भेरीको सुसेल्दो छ र बजार विकास हजार निकास पहिलो दिनमा सञ्चालन हुने भएका छन् ।
कर्णाली उत्सवलाई यहाँका आमनागरिकको आवाजलाई मन्थन् गर्ने स्थलको रुपमा लिइएको आयोजक समुहका सदस्य केवलप्रसाद भन्डारीले बताए । ‘कर्णालीको आम नागरिकको आवाज निकाल्न र यहाँको कठिनाईलाई सुन्ने, सुनाउने र बहस गर्ने उद्देश्यले कर्णाली उत्सव सञ्चालनमा आएको हो ।’ भण्डारीले भने, ‘कर्णालीलाई चिन्ने र चिनाउने अभियान भएकोले उत्सवबाट कर्णालीलाई उत्खनन् गर्नुका साथै कर्णालीको गरिबी र पिछडेपनको समेत छलफल हुनेछ ।’
यस्ता छन् बहसका विषय :
उत्सवको दोस्रो दिनको पहिलो सत्र ‘झरो–उज्यालोको खरो’ गजेन्द्र महत, कुलमान घिसिङ र निशा रानाले बहस गर्ने छन् । जसको सहजीकरण महेश नेपालीले गर्ने भएका छन् ।
‘लगानीमा लगाम’मा चण्द्र ढकाल, चण्डीराज ढकाल, निरक केसी र तारा शाहीले बहस गर्ने भएको छ । यसको सहजीकरण गशेश कार्कीले गर्ने छन् ।
‘आरन, अन्वेषण र आविस्कार’मा महाविर पुन, डिवी नेपाली, सहविर कामी, कविता पाण्डे रहने छन् । सञ्चालक विष्णु विवेकले गर्ने भएका छन् ।
उत्सवको तेस्रो दिनमा ‘कर्णाली भेरी तिरैतिर ‘भविष्यको पिर’ सत्रमा सृजु शर्मा, राधा वाग्ले, युवराज कार्की र डा. सुदीप ठकुरीले वहस गर्नेछन् । जस्को सञ्चालक भने इन्द्र बराल रहेका छन् ।
‘रैबार र रैला’ मा बैकुण्ठ अर्याल, युवराज घिमिरे टीकाराम यात्री र दीपा कोइरला रहने छन् भने यो सत्रको सञ्चालन पत्रकार बिनु सुवेदीले गर्ने छिन् ।
२९ गते हुने सत्रमा ‘शुन्य समय’मा कर्णाली प्रदेश सभाका सदस्य देवी वली, सिता नेपाली, प्रदेश सभाका सचिव जीवराज बुढाथोकी रहने छन् भने सञ्चालन नारायण अधिकारीले गर्नेछन् ।
यस्तै ‘वाद विवाद र संवाद’ मा गगन थापा, रामकुमारी झाक्रीले बहस गर्ने भएका छन् ।
उमेरको उमंग सत्रमा अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, नेपाल विद्यार्थी संघका नेता पुनम भट्ट, सुनिता बराल र आरती लामा रहेका छन् । प्रकृति भट्टराईले कार्यक्रमको सञ्चालन गर्नेछिन् ।
‘विकासको बाटो’ मा मधु मरासैनी, कर्णाली प्रदेशका आर्थिक तथा योजना मन्त्री बिन्दमान बिष्ट र डा. बिमला राई पौडेलले छलफल गर्नेछन् । जसको सञ्चालन विशेष संगतले गर्ने आयोजकले जनाएको छ ।
‘कर्णाली चिन्तन दिगो विकास र कर्णाली’मा डा. विश्व पौडेलले बहस गर्ने भएका छन् ।
ऋति फाउण्डेसनले कर्णाली प्रदेशका सामाजिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक, राजनैतिक लगायतका विषयमा बैचारिक बहस गर्ने उद्देश्यले हरेक वर्ष कर्णाली उत्सव ‘कुडा कर्नालीका’ सञ्चालन गर्दै आएको छ ।
वीरेन्द्रनगरस्थित बुलबुले परिसरमा शुक्रबार विहान ११ बजेदेखि सुचारु हुँने आयोजकले जनाएको छ । तीन दिनसम्म सञ्चालन हु‘ने उक्त उत्सवको पहिलोदिन २७ गते शुक्रबार उद्घाटन हुनेछ । २८ र २९ गते विशेष सत्र संञ्चालन गरिने छ ।
